वैशाख ३० गतेपछि गठबन्धनको ‘टाइँटाइँ फिस’ : अध्यक्ष ओली

विराटनगर, २४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरुले देशको विकास गर्न नसक्ने दावी गर्नु भएको छ ।

एमालेलाइै जे सुकै विरोधीको आरोप लागेपनि सत्य सावित हुन नसकेको उहाँको भनाई छ । नेकपा एमाले महानगर कमिटीले आज विराटनगरमा आयोजना गरेको महानगरस्तरिय चुनावी भेलालाई संवोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको छ । एमाले नेतृत्वको सरकारले देशमा नयाँ उत्साह ल्याएको बताउनु भयो । उहाँले विराटनगरको पुरानो गौरवपूर्ण इतिहासलाई एमालेले पुर्नस्थापित गर्ने बताउनुभयो ।

महानगरमा एमालेको नेतृत्व आउनेवित्तिकै विराटनगरको इतिहासलाई पुर्नस्थापित गर्दै आधुनिकीकरण गरिने बताउनुभयो । अध्यक्ष ओलीले कांग्रेस सढेका लौराको सहारामा हिड्ने अवस्थामा पुगेको किन पुगेको भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो,‘ कांग्रेस किन यतिधेरै कमजोर बनिरहेको छ ।’

आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनपछि गठबन्धनको ‘टाइँटाइँ फिस’ हुने बताउनुभयो । कोभिडको समयमा पनि एमाले नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्था कमजोर हुन नदिएको उहाँको दावी छ । अध्यक्ष ओलीले भन्नुभयो,‘ हामीले सरकार छाड्नेवित्तिकै मुलुकको अर्थतन्त्र डामाडोल भयो ।’

सभालाई संवोधन गर्दै उहाँले गठबन्धन वडामा पनि एक्लै लड्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । वडामा उठ्नपनि गठबन्धन गर्नेबाट विकासको आश नगर्न उहाँको आग्रह छ ।