विराटनगर १ असोज । मोरङको सुन्दरहरैँचामा ४ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुन्दरहरैँचा नगरपालिकाको सहयोग र सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टर प्रालिको आयोजनामा
भदौ २८ गते देखि सुरु भएको भदौ ३१ ग्ते सम्पन्न भएको हो ।
तालिममा सुन्दरहरैँचा नगरका २५ जनाको सहभागिता रहेको सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टरका अध्यक्ष बद्री अर्यालले जानकारी दिनुभयो । प्रत्येक वडाको एकएक सत्यतथ्य खबर सुन्दरहरैँचाभरीका जनताहरुले थाहा पाउन सकुन् भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष अर्यालले बताउनुभयो ।
समापन कार्यक्रममा बोल्दै सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले सुन्दरहरैँचा कै हकमा नगपालिकाको सहयोगमा पहिलो पटक पत्रकारिता तालिम प्रदान गरिएको बताउनुभयो । गुरागाईंले प्रशिक्षार्थी पत्रकारहरुलाई तालिममा लिएको ज्ञानलाई व्यावहारमा उतार्न पनि आग्रह गर्नुभयो । आधारभुत तालिम लिएकाहरुको लागि क्षमता विकासका लागि नगरले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्ट, दोस्रो दिन नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव देवेन्द्र कार्की, तेस्रो दिन पत्रकार महासंघ मोरङका सचिव नेत्र पी. अधिकारी र चौथो दिनमा वरिष्ठ पत्रकार यज्ञ शर्माले सहजिकरण गरेका थिए । तालिममा पत्रकारिता संगै उदघोषण गर्न पनि सिकाइएको थियो ।
समापन कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, नगरपालिका प्रवक्ता रोशनप्रसाद ढकाल, प्रमुख प्रशिक्षक तथा वरिष्ठ पत्रकार यज्ञ शर्मा, एमाले मोरङका प्रचार विभाग प्रमुख सन्तोष वान्तवा, सुन्दरहरैँचा–९ की जनप्रतिनिधि शारदा गदाइलीको हातबाट प्रमाण पत्र वितरण गरिएको संस्थाका प्रवन्ध निर्देशक करण चौहानले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष बद्री आर्यालको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमलाइ प्रशिक्षार्थीहरुले संचालन गरेका थिए । जसमा प्रशिक्षार्थी सिता दाहाल बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने ज्ञानेन्द्र अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।