नेपाल अब अर्गानिक उत्पादनतर्फ फर्कन भारतीय विज्ञको सुझाव

विराटनगर २९ भदौ । भारतका कृषि वैज्ञानिक र विज्ञले कृषिक्षेत्रको अबको बाटो अर्गानिक उत्पादन नै भएको बताएका छन् । अधिक रसायन र विषादीको प्रयोगले खाद्य र मानवीय स्वास्थ्य समस्या सिजर्ना भएकोले अर्गानिकतर्फ फर्कनुको विकल्प नभएको उनीहरुको जोड छ ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा मोरङको कटहरीस्थित कृषि थोक बजारमा जारी कृषि एक्स्पोमा कृषि अन्तरसंवादमा सहभागी भारतका कृषि वैज्ञानिकले नेपाल र भारतमा बढ्दो रसायनिक मलखाद तथा विषादीको प्रयोग चिन्ताको विषय भएको बताए । भारत पश्चिम बंगालका कृषि वैज्ञानिक डा. कंचन भौमिकले आफूहरु विगत १५ वर्षदेखि भारतमा अर्गानिक अभियानमा सक्रिय भएको र यो विभिन्न राज्यस्तरमा फैलाइएको सुनाउनुभयो । भौमिकले आफूले ६ वर्षअघि बाट पूर्वी नेपालको झापा र इलाम तथा मधेश प्रदेशमा अर्गानिक अभियानका लागि प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । जैविक मलको उत्पादन तथा यसको प्रयोग सिकाउन किसानहरुसँग मिलेर काम गर्दै आएको भौमिकले बताउनुभयो ।

भारतका उडिसाका कृषि वैज्ञानिक डा.बरिकले अहिले विश्वको चुनौती नै रैथाने बालीका बीऊ जोगाउने भएको बताउँदै नेपालले समेत आफ्ना मौलिक बीऊ जोगाएर त्यसको खेतीमा जोड दिनुपर्ने सुझाव दिनुभयो । उहाँले भारतले प्रविधि विकास गरेर यसक्षेत्रमा निकै ठूलो प्रगति हासिल गरेको दृष्टान्त पेश गर्नुभयो ।

उडिसाका कृषि वैज्ञानिक सुभाषिशा बलले फाइभ जी कृषि प्रविधिमार्फत भारतमा विकास गरिएको धानको प्रजातिका विषयमा जानकारी गराउनुभयो । प्रविधि प्रयोगसँगै रैथाने बीऊको प्रयोग गरी गरिएको उत्पादनबाट धेरै भन्दा धेरै आम्दानी लिन सकिन्छ । उहाँले खाना विषादीरहित र सुरक्षित हुनुपर्ने बताउँदै जैविक मलको प्रयोगलाई बढाउनु पर्ने सुझाव दिनुभयो ।

काठमाडौ विश्व विद्यालयका कृषि कार्यक्रम प्रमुख डा. कुमार लामाले नेपालमा कृषि विज्ञानको पढाइ गर्ने क्याम्पसहरु वृद्धि भएको तर दक्ष जनशक्ति उत्पादन अहिले पनि चुनौती भएको बताउनुभयो । लामाले विश्व विद्यालयले कृषिक्षेत्रका जनशक्ति उत्पादन गर्न गरिरहेको प्रयासबारे पनि जानकारी गराउनुभयो । एक्स्पोमा दैनिक दुई सेशन कृषि अन्तरसंवाद भइरहेको छ ।