विराटनगर २७ भदौ । नेकपा एमाले मोरङले विराटनगर महानगरपालिकालाई आफ्नो ध्यान विकास निर्माणमा केन्द्रीत गर्न ध्यानाकर्षण गराएको छ । निर्वाचित भएको २ वर्ष ५ महिना वितेपनि महानगरले विकास निर्माणको सवालमा अपेक्षित काम गर्न नसकेको एमाले मोरङको ठम्याई छ ।
पछिल्लो समय महानगर प्रमुख नागेश कोइराला महानगरको भन्दा अन्य अन्य स्थानीयतह, सरकार विरुद्ध पार्टीले शुरु गरेको विरोधका कार्यक्रममा सहभागि हुन थालेपछि एमाले मोरङले महानगर प्रमुखको ध्यानाकर्षण गराएको हो । एमाले मोरङले सडक निर्माण, ढल निकास, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार सम्बन्धी विभिन्न स्थानीय विकासका मुद्दाहरूमा ध्यान केन्द्रीत गर्न आग्रह गरेको छ ।
२०७९ को स्थानीय तहको निर्वाचन पछिको करिव २ वर्ष ५ महिनाको अवधिमा महानगरसंग ठोस, प्रभावकारी एवम् दिर्घकालीन योजनामा कमि भएको पाइएको एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले बताउनुभयो । उहाँले २ वर्ष ५ महिनाको अवधिमा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक, सवारी पार्किङ व्यवस्थापन, सीमा नाकाबाट सामानको आयातमा रोक जस्ता निर्णयहरु गरेर त्यसको कार्यान्वयन गर्न नसक्नुले पालिका नेतृत्वको कार्यक्षमता माथी बिराटनगरवासीले गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्नुभएको छ । जनसरोकारका विषयमा गम्भीर भई विराटनगर विकास निर्माणको काममा गति दिन उहाँले महानगर नेतृत्वको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले महानगर प्रमुख नागेश कोइरालाको ध्यानाकर्षण गराउँदै,‘ विराटनगरको विकास निर्माण तथा जनसरोकारका विषयहरुमा अबिलम्व समाधान होस् ।’
एमालेले महानगर प्रमुख कोइराला समक्ष विराट राजाको दरवार, प्रधानमन्त्री पार्क लगायत विकास निर्माणको काममा भएको ढिलासुस्तीको अन्त्य गरि समय सीमा भित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने, नगरपालिकाबाट संचालन हुने नगर बस अविलम्व संचालन गर्नु पर्ने, नगरभित्र फोहरमैलामा देखिएको लापरवाहीको अन्त्य गर्दै फोहरमैलाको प्रशोधन र उचित व्यवथापन गर्नु पर्ने माग गरेको छ ।
यस्तै नगर क्षेत्रको खेलकुदको प्रवद्र्धनका लागि अविलम्ब नगर खेलकुद विकास समिति गठन गर्नु पर्ने, बिराटनगरको डुवान र ढल निकासका लागी स्थायी समाधान गर्नु पर्ने, नगरले विगतमा थालनी गरी रोकिएका अधुरा योजनाहरु सम्पन्न गर्नु पर्ने एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझ्दै महानगर प्रमुख कोइरालालाई विकास निर्माणका कामका आवस्यक वजेटको अभाव भएको बताउनुभयो । उहाँले बजेटका लागि प्रदेश र संघीय सरकार समक्ष पहल भईरहेको बताउनुभयो । ध्यानाकर्षण पत्रमा उल्लेख भएका सवालहरुलाई समाधानमा जोड दिईने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महानगर प्रमुख कोइरालालाई ध्यानाकर्षण गराउने कार्यक्रममा एमाले केन्द्रीय सदस्य रामलाल साह, मोरङ क्षेत्र नं. ६ इन्चार्ज तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम वस्नेत, मोरङ सचिव रविन थापा, सहसचिव सोमराज थापा लगायतका पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य सभागिता रहेको थियो ।