कृषि एक्स्पो शुरु, कृषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गरिनेमा मुख्यमन्त्री कार्कीको जोड

विराटनगर २७ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले निर्वाहमुखी कुषि क्षेत्रलाई निर्यातमुखीको रुपमा विकास गर्ने बताउनु भएको छ। नेपाल उद्योग बाणिज्य महासंघ कोशीद्वारा आज मोरङको कटहरीस्थित कृषि थोक बजारमा आयोजित चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै उहाँले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा कार्यक्रम वजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न दृढ संकल्पित रहेको जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले मुलुकको आर्थिक क्षेत्रलाई चलायमन गराउन निर्यातलाई प्रवद्र्धन गर्ने र आयातलाई प्रतिस्थापन गर्ने गरी राष्ट्रिय पूँजीको विकास गर्ने कुरामा विशेष ध्यान दिनु आजको आवश्यक्ता भएको चर्चा गर्नु भयो । उहाँले प्रदेशको विस २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षिय योजननामा कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले नीजी क्षेत्रको सहकार्यमा विस २०८१ मा लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिँदै यसमा प्रदेश सरकारले राखेका एक सयबटा कृषि, उद्योग, पर्यटन , सूचना प्रविधि र जलश्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास राख्नु भयो । उहाँले नीजि क्षेत्रको सहकार्यमा कृषि थोक बजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै यसवाट कृषिको बजारीकरण,कृषकलाई उत्पादनमा सहयोग पुग्ने विश्वास राख्नु भयो ।

कृषि तथा पशुपंछी विकासमन्त्री रामनाथ अधिकारीले दुग्धजन्य पदार्थको विविधिकरण गरी यसको बजार विस्तार गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि, आत्मनिर्भर गर्न विस २०८१ –९१ कृषि लगानी दशक घोषणा गरेको छ भन्दै यस कार्यले कृषि क्षेत्रमा नीजिक्षेत्रको सहभागिता कायम भै कृषिमा व्यवसायिकरण हुने विश्वास व्यक्त्त गर्नु भयो ।

मन्त्री अधिकारी कृषि थोक बजार केन्द्रलाई प्रदेश र स्थानीय तहले संयुक्त रुपमा सञ्चालन गरी कृषि प्रवद्र्धनमा सहयोग पुर्याउन पर्नेमा जोड दिनु भयो । महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्विस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ , कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा नीजि क्षेत्रलाई आकर्षित गरि निर्यात गर्न सकिने धारणा राख्नु भएको थियो ।

चारदिनेसम्म सञ्चालन हुने उक्त्त एक्स्पोमा १३० बटा स्टलमा कोशी प्रदेश, भारतको विहार र वङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षि, पर्यावरण– मैत्री ज्ञान, शिप र प्रविधि , कृषि विज्ञसंग छलफल , नयाँ नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुती , कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको छ ।

एक्स्पोमा कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउन एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ ।