विराटनगर २६ भदौ । नेकपा (एमाले)ले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनप्रति आपत्ति जनाएको छ ।
विभिन्न ९ बुँदे माग राख्दै कार्की अनशन बसेपछि एमालेले विरोध गरेको हो । प्रदेश सरकार र बजेटका बारेमा कार्कीले भ्रम फिँजाउने कार्य गरेको भन्दै एमाले असन्तुष्ट छ । प्रदेशसभा बैठकमा बुधबार एमाले सांसद तिलचन पाठकले विशेष समय लिएर बोल्दै कार्कीले संसदीय मूल्यमान्यताविपरीत काम गरेको बताउनुभयो । उहाँले अनशनको नौटंकी नगर्न पनि आग्रह गर्नुभयोे । उहाँले भन्नुभयो,‘ वार्ता कार्यदल, के गर्नुपर्छ गर्न तयार छ र मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्नसमेत म अनुरोध गर्न चाहन्छु । अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन । जनता सुखी हुँदैनन ।’ केदार कार्कीले उठाएका सबै माग रातोकिताबमा रहेको बताउँदै उनले त्यो हेर्न आग्रह गर्नुभयोे ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन संस्थागत नभएको बताउनुभयो । कार्कीको अनशनका विषयमा दलबाट कुनै निर्णय नभएको जानकारी उहाँले दिनुभयो ।
कार्कीले अनशन बस्ने भनेर पार्टीलाई जानकारी मात्रै दिएको र दलबाट कुनै निर्णय नगराएको उहाँको भनाइ छ । अनशनस्थलमा गएर कार्कीलाई भेटेपछि बुधबार (आज) पत्रकारसँग कुराकानी गर्दै थापाले अनशन संस्थागत नभएको उल्लेख गर्नुभयो । अहिले अनशनभन्दा पनि सरकार अघि बढाउने कुरा पार्टीको प्राथमिकतामा रहेको थापाको भनाई छ । पूर्वमुख्यमन्त्री कार्कीले भनेजस्तो बजेट कटौती नभएको थापाको भनाई छ । उहाँ (केदार कार्की)ले उठाउनु भएको मागमा पनि अघिकांश बजेट परेको छ । बजेटनै नपरेको भन्ने छैन । हामीले बुझ्दै गर्दा सबै शीर्षकमा पैसा छ । यसमा कार्यदल बनाएर काम गर्नेछौं ।’
काठमाडौंबाट बुधबार बिहान विराटनगर आएका दलका नेता थापा दिउँसो अनशनस्थल पुगेर कार्कीलाई भेट्नु भएको थियो । उहाँहरुबीच छोटो समय दोहोरो संवाद भएको थियो ।