पूर्वमुख्यमन्त्री कार्कीलाई सार्वजनिक रुपमा माफी माग्न चौतारीको माग

विराटनगर २३ भदौ । प्रेस चौतारी कोशी प्रदेश कमिटीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई सार्वजनिक रुपमा माफी माग्न माग गरेको छ । प्रेस चौतारी कोशी प्रदेश अध्यक्ष अविजाल विष्टको सामाजिक सञ्जाल फेसबुक मार्फत गरेको गाली बेइज्जतीको विषयमा २४ घण्टा भित्रमा लिखित र सार्वजनिक रूपमा माफी नमागे कानुनी कारबाहीमा जाने चौतारीले चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङको म्यासेन्जर ग्रुपमा मिति २०८१ भदौ २३ गते प्रदेश अध्यक्ष विष्टले लेखेको विषयलाई अतिरञ्जित बनाई पदीय जिम्मेवारी भुल्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले लेखेको स्ट्याटसलाई लिएर चौतारीले आपत्ती जनाएको छ । प्रेस चौतारी कोशी प्रदेश उपाध्यक्ष सुमन पुरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश अध्यक्ष विष्टले ग्रुपमा लेखेको सन्दर्भ र विषयलाई बुझ्दै नबुझी हचुवाको भरमा पूर्वमुख्यमन्त्रीले रातको समयमा स्ट्याटस लेख्नु र उज्यालो नहुँदै हटाउनुले समग्र प्रेस जगतकै अपमान गरेको हाम्रो सङ्गठनको ठहर छ ।’

नेपाल पत्रकार महासङ्घ मोरङको फेसबुक ग्रुपमा अग्रज पत्रकार विनोद भण्डारीका बुवाको स्वर्गारोहण प्रति प्रदेश अध्यक्ष विष्टले बिहान ८ बजेर १० मिनेटमा गरेको टिप्पणी र लामो समयदेखि रोकिएको कोरोना बिमाको भुक्तानी पाएको विषयमा सबैलाई बधाई दिएको सवाल पूर्वमुख्यमन्त्री कार्कीसँग कुनै साइनो र सम्बन्ध समेत नरहेको विषयमा पत्रकारहरूको मात्रै ग्रुपमा अनधिकृत रूपमा छिरी कसले के भन्छ ? र के लेख्छ ? भनेर चियोचर्चा गर्ने काम प्रति चौतारीले घोर निन्दा र भत्र्सना गरेको छ ।

पूर्वमुख्यमन्त्रीलाई कसैले लेखेका बिषय र टिप्पणीमा चित्त नबुझे कानुनी कारबाहीमा जान पाउने कुराको समेत हेक्का नरहेको यसअघि पनि उनले गरेका हर्कतले देखाएको विज्ञप्तिमा जनाईएको छ । उनले यसअघि पनि समाचार लेखेकै आधारमा पत्रकारलाई बलात्कारको मुद्दा लगाउने सम्मको गैर जिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएकाले पूर्वमुख्यन्त्री केदार कार्कीलाई सच्चिन प्रेस चौतारी कोशीले चेतावनी दिएको छ ।