आयुर्वेद चिकित्सालाई स्तरीय बनाउछाैं : मुख्यमन्त्री कार्की

झापा २३ भदौ  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाएर अगाडि लैजानु पर्ने बताउनुभएको छ ।

आज कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“ यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ ।” यसका लागि अध्ययन कार्यदल गठन गरिएको भन्दै उहाँले कार्यदलले दिएको प्रतिवेदनका आधारमा काम सुरु गर्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले डाक्टर खिमबहादुर कार्कीको नेतृत्वमा बनाएको कार्यदलले अब एक महिनामा प्रतिवेदन बुझाएपछि तत्काल काम सुरु गर्ने बताउनुभयो ।

आयुर्वेद स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, आयुर्वेदिक चिकित्सा र नयाँ चिकित्सा प्रणालीलाई जोडेर सेवा दिन सक्ने सम्भावनाको समेत खोजी गरिने उहाँले बताउनुभयो ।