राष्ट्र निर्माणमा निर्माण व्यवसायीकाे भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर २२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउनु भएको छ ।

निर्माण व्यवसायी संघ मोरङ विराटनगरको २७ औँ साधारण सभाको आज उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले निर्माण कार्य गर्दा गुणस्तरीय एवं समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निर्माण क्षेत्रको समस्या समाधान गर्न तयार रहेको छ भन्दै नीति, नियम, कानून , नियमावली ,कार्य विधिकमा भएका त्रुटीहरु सच्याएर निर्माण कार्यलाई ब्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो । उहाँले भन्नुभयो , ‘ सङ्घीय नयाँ सरकार बनेपछि आएको मौद्रिक नीतिले निर्माण व्यवसायीहरुमा आशा जगाएको छ ।’

मुख्यमन्त्री कार्कीले खरीद ऐन प्रक्रियामा भएका त्रुटितर्फ आफ्नो ध्यान गएको र यसलाई सच्याउन सङघीय सरकारलाई समेत दबाब दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले लगाएका ठेक्काहरुको भुक्तानी नरोक्ने मुख्यमन्त्री कार्कीले प्रतिवद्धता व्यक्त्त गर्नु भयो । उहाँले भन्नु भयो ,‘ न्यून दरमा ठेक्का लिएकै कारण गुणस्तरीय काम नहुने र समयमै सम्पन्न नहुने गरेकोमा यसप्रति व्यवसायीहरु गम्भीर हुन आवश्यक रहेको छ ।

मुख्यमन्त्री कार्कीले निर्माण व्यवसायीहरुका सङ्घीय सरकारले गर्नु पर्ने समस्या समाधान गर्न प्रधानमन्त्री र प्रमुख सत्ता घटक नेपाली काँग्रेसका सभापति तत्परता देखाइरहनु भएको चर्चा गर्दै उहाँहरुलाई राखेर समस्याको हल गर्ने बताउनु भयो । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, महासचिव रोशन दाहालले सार्वजनिक खरिद ऐन, भुक्तानीमा भएका ढिलाई लगायतका समस्याले निर्माण व्यवसायीहरु गम्भिर आर्थिक समस्याको अवस्थामा पुगेको बताउनु भयो ।

निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेशकुमार मिश्र, सचिव राधेश्याम कट्टल लगायतले निर्माण व्यवसायी संघमा २५ लाखले रोजगारी पाएको जानकारी गराउनुभयो ।