दुई छोरीकी हत्याको आरोपित आमा पक्राउ, हत्या गरेको स्वीकार

विराटनगर २० भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं वडा नं ७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई आज विहान प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार आयोजित पत्रकार सम्मेलनमा धनकुटा जिल्ला पाख्रीवास नगरपालिका –६ घर भई सुन्दर हरैचा –७ मालति टोल बस्ने ३१ वर्षिय अर्जुन कार्कीको श्रीमती २१ बर्षिया अस्मिता पौडेलले पतिसँग सामान्य विवादमा भदौ १४ गते वेलुकी दुई छोरीहरु तीन वर्षीया अर्पना कार्की र एक वर्षीया आईङ्का कार्कीलाई केराको बगानमा विष सेवन गराई हत्या गरेको आरोप पक्राउ गरी सार्वजनिक गरेको छ ।

मृत्यु भएकी दुई बालिकाको लास भदौ १५ गते अपरान्ह ४ः३० बजे प्रहरीले सुनदरहरैचा नगरपालिका–७ स्थित केरा वगानमा फेला पारेको थियो । प्रहरीले हत्याको आरोपित आमा पौडेललाई खोजतलासको क्रममा आज विहान ४ः३० बजे झापा जिल्ला विर्तामोड नगरपालिका –५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ एभरेष्ट बैंङ्क अगाडि हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

आरोपित पौडेललाई सञ्चारकर्मीको सूचनाको आधारमा प्रकाउ गर्न सफल भएको प्रहरी उपरीक्षक कार्कीले सोही अवसरमा जानकारी दिनु भयो । आरोपित पौडेलले श्रीमानले आफ्माथि सधै कुटपिट गर्ने र मार्छु भन्ने गरेकोले रिसको झोकमा भदौ १४ साँझ १८ः३० बजे आफुले पनि विष खाई र छोरीहरुलाई ख्वाएकोमा छोरीहरुको मृत्यु भएको प्रहरीलाई दिएको वयानमा उल्लेख गरेकी छिन् ।

जिल्ला अदालत मोरङबाट घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न चार दिनको म्याद गरिएको प्रहरीले जनाएको छ ।