विराटनगर १७ भदौ । पत्रकार सुशीला पाठकलाई खिलेश्वरी पत्रकारिता पुरस्कार २०८१ प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ मोरङको व्यवस्थापनमा पीताम्वर–खिलेश्वरी प्रतिष्ठानद्धारा स्थापीत पत्रकारिता पुरस्कार कान्तिपुर टिभीमा कार्यरत पाठकलाई प्रदान गरिएको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का लगायतलाई पत्रकार पाठकलाई सम्मानित गर्नु भएको थियो । पुरस्कारको राशी ११ हजार रहेको छ ।
कार्यक्रममा मन्त्री अधिकारीले पत्रकारिता बौद्धिक, मर्यादित,प्राज्ञिक र जनसरोकारको पेशा भएको बताउनु भयो । उहाँले पत्रकारले सरकारलाई खवरवादी र जनतालाई सु–सूचित गराउने अन्त्यन्त जिम्मेवारीपूर्वक रुपमा कार्य गर्ने गरेको विचार व्यक्त गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पत्रकारिता क्षेत्रमा राज्य र समाजको लगानी आवश्यक भएको विचार राख्दै सञ्चारकर्मीले सत्य तथ्यका आधारमा समाचार समाजमा पस्कन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खड्का, मोरङ व्यापार संघका पूर्वअध्यक्ष सुरेशकुमार शर्मा, प्रतिष्ठानका सदस्य सचिव कविराज न्यौपाने लगायतले सञ्चारकर्मीले समाजमा पछाडि परेका जनताको शिक्षा, स्वास्थ्य, रोजगारी र हक अधिकारका लागि कलम चलाउनु पर्ने सुझाव दिनु भयो ।
पीताम्वर–खिलेश्वरी प्रतिष्ठानले २०४५ सालदेखि यो पुरस्कार वितरण गर्दै आईरहेको थियो । पछिल्लो ६ वर्षदेखि नेपाल पत्रकार महासंघको व्यवस्थापनमा यो पुरस्कार वितरण शुरु गरिएको हो । सो पुरस्कारबाट पाठक सहित १९ पत्रकार पुरस्कृत भईसकेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङले २/२ वर्षमा यो पुरस्कार वितरण गर्दै आईरहेको सचिव नेत्र पी अधिकारीले जानकारी दिनुभयो ।