विराटनगर २३ बैशाख । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार प्रसारका लागि घर दौलो कार्यक्रम सकेको नेकपा (एमाले) विराटनगरले दोस्रो चरणमा कोण सभा र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदाता शिक्षाका लागि वडा वडामा समुह बनाएर घर दैलोमै पुगि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने नेकपा एमाले विराटनगर महानगर कमिटीका सचिव रोहित कोईरालाले बताउनुभयो ।
मेयर र उपमेयर सहितको पहिलो चरणको घर दैलो कार्यक्रम शुक्रबार देखि पूर्णरुपमा सकिने सचिव कोईरालाले बताउनुभयो । शुक्रबार वडा नं ६ को घरदैलो कार्यक्रमसँगै पहिलो चरणको घरदैलो कार्यक्रमको समापन हुने छ ।
घरदैलो कार्यक्रमको समापनसँगै शनिबार एमाले विराटनगरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बृहद आमसभाको आयोजना गर्ने भएको छ । बैशाख २५ गते सबै वडामा अगुवा कार्यकर्ता भेला र २६ गते महानगर भित्र क्रियासिल जनसंगठनहरुको संयुक्त भेला र २७ गते बालमावि सैनिक टोल देखि रघुपति जुटमिल सम्मको ¥याली लगायतका कार्यक्रमहरु तय भएको एमालेले जनाएको छ ।
यस अघि पहिलो चरणमा मेयर उपमेयर सहित महानगरका सबै वडाका उमेदवारहरू घरघरमा पुगेर मत माग्ने र जनभावना बुझ्ने काम भएको थियो ।
पार्टी वडाकमिटीका आध्यक्ष समेत रहेका विराटनगर महानगरपालिका वडा नं १९ का वडाध्यक्ष पदका उमेदवार श्याम घिमिरेले पहिलो चरणको घर दैलो कार्यक्रम बिहीबार देखि सकिएको र अब शुक्रवार विहानबाट मतदाता शिक्षाको कार्यक्रम शुरु हुने बताए ।
सो वडामा वैशाख २४, २५ र २६ गते कोण सभा र मतदातालाई भोटहाल्ने सिकाउने कार्यक्रम गर्ने तयारी गरिएको छ ।
वडा नं. १८ पनि घरदैलो कार्यक्रम सकिएको छ । विभिन्न ठाउँमा मेयर उपमेयर र पार्टी नेताको उपस्थितिमा कोणसभा समेत भएका छन् । वडाअध्यक्ष जितेन्द्र कामतका अनुसार अब दोस्रो चरणको महिला पुरुषको भिन्दाभिन्दै समूह बनाएर मतदाता शिक्षा शुरु गरिएको छ ।
उक्त वडामा ४२७९ मतदाता रहेका छन् । दलित तथा सुकुम्वासी वस्ती वाहुल्य रहेका उक्त क्षेत्रका जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी लगायतका समस्याहरू उठाएकोले एमालेका प्रतिनिधिले चुनाव जितेपछि ती समस्या समाधान गर्ने वडाध्यक्षका उमेदवार भुवनेश्वर यादवले जनतालाई आस्वस्थ गराएको अध्यक्ष कामतले बताए ।
वडा नं. १७ मा पनि विहीबार अपरान्हबाट घरदैलो सकिएको र अब मतादाता शिक्षा, कोण सभा जस्ता प्रचार अभियानका कार्यक्रम गरिने पार्टीका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । पाँचहजार तीनसय २० मतदाता रहेको यस वडामा एमालेप्रतिको जनविश्वास वृद्धि भएको वताउँदै उनले यसपटक एमालेले यस वडामा चुनाव जित्ने दावी गरे ।
त्यसरी नै वडा नं. १६ मा पनि एमालेले घरदैलो कार्यक्रम सकेको छ । बिहीबार मेयर उपमेयर लगायत अन्य नेताहरूको सहभागितमा ¥याली तथा कोणसभा सम्पन्न गरिएको पार्टी अध्यक्ष तथा वडाध्यक्षका उम्मेद्वार कुमार महर्जनले जानकारी दिए । यस वडामा ४०१९ जना मतदाता रहेको बताउँदै डुवानको समस्या समाधानप्रति स्थानीयको जोड रहेको उनले बताए । अबका बाँकी दिनमा आवश्यकता अनुसार कोणसभा र मतदाता शिक्षातर्फ प्रचार अभियान केन्द्रित रहने उनको भनाई छ ।
वडा नं. १५ मा पनि घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको र शुक्रबार सम्ममा घरदैलो कार्यक्रम सकिने र अबको चरणमा कोणसभा र मतदाताहरूलाई मतदानमा सहभागी भई भोट हाल्ने विषयमा जानकारी गराउने कार्यक्रम रहेको वडाध्यक्षका उम्मेद्वार धर्मानन्द सञ्जेलले बताए ।
वडा नं. १४ मा पनि घरदैलो कार्यक्रमको बिहीबार बाटै सकिएको र शुक्रबार देखि भेटघाट कार्यक्रम गरिने बताइएको छ । वडा नं. १३ मा शुक्रवारदेखि घरदैलो सकेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना बनेको वडाध्यक्षका उमेदवार किशोर पोखरेलले जानकारी दिए । पाँचहजार एकसय पाँच मतदाता रहेको यस वडामा पार्टीका नेता तथा उमेदवारहरूको सहभागितामा विभिन्न ठाउँमा कोणसभाहरू पनि सम्पन्न भएका छन् । विराटनगरका तमाम नागरिकहरूको अपेक्षा जस्तै यस वडामा बाटोघाटो, डुवान लगायतका समस्या समाधान गर्न वडामा एमालेको नेतृत्व आउनुपर्ने जनअपेक्षा रहेको उनले बताए । वडा नं. १२ मा शुक्रबार मध्यान्हसम्म घरदैलो कार्यक्रम सम्पन्न हुने एमालेका स्थानीय कार्यकर्ता अनिल साहले बताए ।
नगरका अन्य वडाहरूमा विहीवार अपरान्हसम्म घरदैलो कार्यक्रम जारी रहेको सम्वन्धित वडाबाट जानकारी प्राप्त भइरहेकाले सो सम्वन्धी विवरण क्रमशः उपलव्ध हुनेछ ।