विराटनगर ७ भदौ । दलालहरुले सामाजिक सञ्जालको प्रयोग गरि मानव बेचविखन गर्ने गरेको पाईएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो मात्रामा देखिएको माईती नेपालले गरेको अध्ययनका क्रममा पाईएको हो ।
सामाजिक सञ्जालको प्रयोग गरि रोजगारी, मायाजाल, नेटवर्कीङ विजनेसका नाममा मानव बेचविखन भईरहेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।
शुक्रबार माईती नेपाल विराटनगरले आयोजना गरेको मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विषयक सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा संयोजक पोखरेलले सो जानकारी दिनुभएको हो । सामाजिक सञ्जालबाट रोजगारी दिने, हिंसापीडित तथा बालिकाहरुसँग प्रेम विवाह गर्ने र भारतको पटनामा ‘वीन वीन’ नेटवर्किङ विजनेसमा लैजाने गरेको पाईएको उहाँको भनाई । संयोजक पोखरेलले भन्नुभयो,‘ दलालहरु अब फकाउन आउँदैनन, सामाजिक सञ्जालको प्रयोगगरि प्रभावमा पर्छन ।’ आज भोली सामाजिक सञ्जालको दुरुपयोग, नेटवर्किङ विजनेस, डान्सक्लव, बुर्कालगाएर पनि मानव बेचविखन हुने गरेको पाईएको संयोजक पोखरेलको भनाई छ ।
माईती नेपालले सन् २०२३ मा सीमाक्षेत्र रानी विराटनगरबाट विभिन्न जिल्लाका गरि १५९ जनालाई उद्धार गरेको थियो । वेचविखनको जोखिममा रहेका उनीहरुलाई सीमा क्षेत्रबाट उद्धार गरिएको माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले जानकारी दिनुभयो । ठुलो संख्यामा उद्धार गरिएपनि पीडितहरुले पीडक विरुद्ध कतैपनि उजुरी नगर्ने गरेको पाईएको छ । मानव वेचविखनमा मुद्धाचल्नु ठुलो विषय नभएको अधिवक्ता लीलानाथ सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ यसलाई पारलगाउने कुरा ठुलो हो ।’ मुद्धा चलाउँदा प्रमाणनै जुटाउन समस्या हुनेगरेको उहाँले बताउनुभयो । मानवबेचविखनको जोखिममा रहेकाहरुले समाजमा स्थापीत हुन समस्या हुने डरले पनि पिडकविरुद्ध नवोल्ने गरेको पाईएको उहाँको भनाई छ ।
मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय समिति र जिल्ला समितिहरुको व्यवस्था, पालिका स्तरीय समितिको व्यवस्था रहेको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) नियमावली, २०६५ बमोजिमको कसूर नियन्त्रण गर्ने तथा पीडितलाई पुर्नस्थापना गर्ने सम्बन्धी कार्यमा सरकारी निकाय तथा गैरसरकारी संस्थाबीच समन्वय समेत गर्नका लागि एक राष्ट्रिय समिति र सम्पूर्ण जिल्लाहरुमा जिल्ला समितिहरु गठन गरिएका छन् । ऐन तथा नियमावलीमा भएका व्यवस्था अनुशारका समितिहरु सक्रिय नहुँदा पनि मानव वेचविखन तथा ओसारपसार नियन्त्रणमा समस्या भएको सरोकारवालाहरुको भनाई छ ।