१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशद्धारा तयारी शुरु

विराटनगर १ भदौ । कर्णाली प्रदेशमा आगामी मंसिर २ देखि शुरु हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कोशी प्रदेशले तयारी शुरु गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा बोर्डले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा सामाजिक विकास मन्त्री तथा खेलकुद बोर्डका अध्यक्ष पाँचकर्ण (पीके) राईले कोशी प्रदेशले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा अधिकतम पदक जित्ने गरी तयारीमा लाग्न निर्देशन दिनुभयो । मन्त्री राईले प्रदेशका खेलकुद क्षेत्रका सबै सरोकारवालाहरूले एकताका साथ कोशी प्रदेशलाई पहिलो स्थानमा पुर्याउने गरी आवश्यक तयारी गर्नुपर्ने बताउनु भयो ।

प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण(पर्शुराम) बस्नेतले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी तथा प्रशिक्षकहरूलाई बोर्डले सहयोग गर्न कुनै पनि कसर बाँकी नराख्ने बताउनु भयो । बस्नेतले जिल्ला खेलकुद विकास समितिमार्फत प्रत्येक जिल्लामा खेल सङ्घहरूको सहकार्य र समन्वयमा प्रतियोगिता लक्षित आयोजना अघि बढाउने जानकारी गराउनु भयो ।

कोशी प्रदेश गल्फ सङ्घका अध्यक्ष सुयेश प्याकुरेलले सरकारले खेलकुद क्षेत्रमा भने जति लगानी गर्न नसकिरहेको अवस्थामा निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गर्नुभयो । प्याकुरेलले निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व (सिएसआर) अन्र्तगत खेल क्षेत्रमा लगानी बढाउनु सरकारले प्रोत्साहन गर्नुपर्ने बताउनु भयो ।

कोशी फुटवल सङ्घका अध्यक्ष किशोर राईले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्ने अवस्था निर्माण गर्न सबैले दत्तचित्त भएर लाग्नुपर्ने बताउनु भयो । राईले सामाजिक विकास मन्त्रालयले ५० वर्षअघिको अवस्थामा सम्झेर नभएर ५० वर्षपछिको योजना बनाएर खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा बोर्डका सदस्य तथा विभिन्न खेलकुद सङ्घका प्रदेश अध्यक्ष, सचिव, खेलका प्रशिक्षकहरू, १४ वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।