विराटनगर ३२ साउन । न्याय सेवाका अधिकृतहरुले आफ्नो नियुक्ति भएको तेश्रो बार्षिकोत्सवको अवसरमा आर्थिक सहायता प्रदान गरेको छ । २०७८ साउन ३१ गते नियुक्त भएका न्याय सेवाका अधिकृतहरुले आफ्नो नियुक्ति भएको तेस्रो बार्षिकोत्सवको अवसरमा विहीबार माया घरलाई आर्थिक सहायता प्रदान गरिएको हो ।
न्याय सेवा अधिकृत २०७८ समूहले माया घर नेपाल, इटहरी सुनसरीको असहाय आश्रमको भवन निर्माणका लागि १५ हजार ५५५ आर्थिक सहयोग प्रदान गरेको छ । साथै सो आश्रममा रहेका १४६ असहाय, वृद्धवृद्धा र बालबालिकाहरूलाई खाजा खुवाईएको उच्च अदालत विराटनगरका शाखा अधिकृत रमेश खतिवडाले जानकारी दिनुभयो ।
कार्यक्रममा न्याय सेवाका न्याय, कानून र सरकारी वकील गरी ३ वटै समुहका २३७ मध्ये कोशी प्रदेश, मधेश प्रदेश र केही काठमाडौंका अधिकृतहरुले प्रति व्यक्ति एक हजारसंकलन गरी आश्रमलाई सहयोग गरिएको खतिवडाले बताउनुभयो ।
न्याय सेवा अधिकृत २०७८ को समुहले पहिलो बार्षिकोत्सवमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको र दोस्रो बार्षिकोत्सवमा मानव सेवा आश्रममा काठमाडौंमा एक छाक खान खुवाएको थियो । क्षमताअनुसार सामाजिक सेवा गर्नुपर्छ भन्ने सन्देश फैलाउनु न्याय सेवा अधिकृत २०७८ समूहको उद्देश्य रहेको खतिवडाको भनाई छ ।