विराटनगर ३१ साउन । विराटनगरमा निकालिने श्री राधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले अहिलेदेखि नै तयारी थालेको छ ।
जथाभावी फोहोर हुन नदिनका लागि महानगरले सम्बन्धित संघसंस्था र व्यक्तिलाई पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्बत, प्रसादलगायतका सामग्री वितरण गर्न आग्रह गरेको छ । रथयात्राका क्रममा सर्बत, पानी, प्रसादलगायतको खोल, बोतल र प्लाष्टिक सडकमा फ्याल्दा बजार फोहोर देखिने गरेको थियो ।
गत वर्षदेखि महानगरले रथयात्राका क्रममा निस्कने फोहोर व्यवस्थापन योजनाबद्ध रुपमा गर्न सुरु गरेको छ । यस वर्ष आगामी भदौ ११ गते राधाकृष्ण रथयात्रा निकालिँदैछ । महानगरले सार्वजनिक सूचना नै जारी गरेर जथाभावी फोहोर नगर्न अपिलसमेत गरेको छ । महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो ।
रथयात्राको क्रममा पानी, सर्बत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ–संस्थाहरूले अनिवार्य रूपमा महानगरबाट पूर्वस्वीकृति लिनुपर्नेछ । महानगरपालिकाले सेवा प्रदायकहरूलाई फोहोरलाई डस्टबिन वा बोरामा संकलन गरी सडक सरसफाईको साधनमा राख्न निर्देशन दिएको दाहालले बताउनुभयो । महानगरपालिकाले स्वीकृति नलिई फोहोर उत्पादन गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ ।
पछिल्लो वर्ष सेवा प्रदायकहरूले फोहोर नउठाउँदा महानगरको टोलीले सरसफाई गरेको थियो । यस पटकको रथयात्रामा महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । सबै पक्षको सहयोगले मात्र विराटनगरलाई सफा र सुन्दर राख्न सकिने मेयर नागेश कोइरालाले बताउनुभयो ।