कोशी सरकारमा कांग्रेस एक हप्ता भित्रमा सहभागी हुन्छ : डा शेखर कोइराला

विराटनगर ३१ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा काँग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकाँ सभापति शेरबहादुर देउवा वीच छलफल भइरहेको जानकारी दिनु भयो । नेता कोइरलाले भन्नु भयो, ‘आफ्नो कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो ।’ उहाँले विगत एक बर्षदेखि आफूले एमाले र नेकांबीच गठबन्धन हुनु पर्छ भनेको हुनाले यो सरकारलाई भत्काउने कार्य आफुबाट कुनै हालतमा नहुने प्रष्ट पार्नु भयो ।

नेता कोइरालाले राजनीतिक स्थायीयत्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको विचार राख्नु भयो । उहाँले संविधानमा लेखिए अनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी वहुमतको सरकार निर्माण हुने तर्फ आगाडि वढ्नु मुलुकको लागि आवश्यक रहेको विचार व्यक्त्त गर्नु भयो ।

डा कोइरालाले आम नागरिकलाई शिक्षा, स्वास्थ्य, खानेपानी,रोजगारीमा सरकारले खुशी बनाएमा वङ्गलादेशको स्थिति नआउने दावी समेत गर्नु भयो । फरक प्रसङमा उहाँले आगामी १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुने जानकारी दिँदै तोकिएको समय महाधिवेशन नभएमा नेकां कमजोर हुने बताउनु भयो ।