विराटनगर, ३१ साउन । श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिन गरिएको राधाकृष्ण रथयात्राको तयारीबारे छलफल गरिएको छ ।
वि.सं. १९८८ देखि प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर १ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट भव्य रथयात्रा निकाल्ने चलन रहि आएको छ । यस पटक भदौ ११ गते राधाकृष्ण रथयात्रा निकाल्ने तयारीमा जुटेको र यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा वुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षकर्मीका प्रमुखहरु ,विराटनगर महानगरपालिका साथै कर्मचारीहरु,विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, संघ सस्थाहरु सगं छलफल गरिएको छ ।
रथयात्रालाई व्यवस्थित र सुरक्षीत गर्नको लागि सुरक्षा व्यवस्था कढा बनाइने प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टइले जानकारी दिनुभयो । उहाँले रथयात्रालाई भव्यरुपमा सम्पन्न गर्न सरोकावाला निकायको महत्वपूर्ण भुमिका हुने भन्दै सुरक्षा निकाय,विराटनर महानगरपालिका,सडक विभाग, विद्युत, टेलिकम लगायत संग छलफल गरेको बताउनुभयो ।
हरेक बर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रालाई सफल बनाउन सवैको सहयोग हुनुपर्ने राधाकृष्ण मन्दिरका अध्यक्ष एवं रथयात्रा मुल समारोह समिति संयोजक कैलाश रेग्मीले बताउनुभयो । राधाकृष्ण रथयात्रा यसपटक भने भब्यरुपमा निकाल्ने तयारी भएको आयोजक समुहरुले जनाएको छ ।
संयोजक रेग्मीले विराटनगर १ पोखरीया राधाकृष्ण मन्दिरबाट सुररु गरेर विराटनगर मुख्य बजार हुदै पुनः सोही मन्दिरमा आएर समापन हुने रथयात्रा हेर्नको लागि लाखौं मानिस आउने गरेको बताउनुभयो । रथको डोरी छोएमा मनोकामना पुरा हुने विश्वास लिएर मानिसहरु आउने गरेका छन् ।