विराटनगर, २२ वैशाख । २३ वर्षको उमेरमा बेलबारी ७ की सुनिता चौधरी वडा सदस्यमा निर्वाचित भईन । ०७४ को स्थानीय तह निर्वाचनमा उनले निकटतम् प्रतिष्पर्धीलाई १२१ मत अन्तरले पराजित गरेकी थिईन । उमेरले आफुभन्दा दोब्बर बढीकी उम्मेदवारलाई पराजित गरेपछि वडामा उनको उचाई ह्वात्तै बढ्यो ।
थारु महिलाबाट पहिलो पटक आफ्नो गाउँ टोलको जनप्रतिनिधि भएकी सुनिता पछि नगरकार्यपालिका सदस्य भईन । कार्यपालिका सदस्य भएपछि आफ्ना गाउँ टोलका समस्याहरु बैठकमा लैजाने, समस्या समाधानका लागि पहल गर्ने काममा उनी निरन्तर लागिन । वडाको विकासका लागि आफुले सक्दो काम गरेको उनको भनाई छ ।
कार्यपालिकामा सवैभन्दा कान्छि उमेरकी सुनितालाई पहिलो पहिले कुराहरु राख्न धकलाग्ने गरेपनि विस्तारै बैठकमा आफुलाई सहज लाग्दै गएको बताईन । उनले भनिन्,‘ ५ वर्षको कामको मूल्यांकन र मेरो क्षमता विकासका आधारमा पार्टी कमिटीले वडाध्यक्षमा सिफारिस गर्यो ।’
महिलाहरु नेतृत्वमा आउनुपर्छ र महिलाहरुलाई उद्यमशिलतासँग जोड्नुपर्छ भन्ने मान्यता राखेकी सुनिताको अवधारण अनुसार टोलमा परिश्रमीक सामाजिक महिला समूह गठन गरियो । पछि सो समूह परिश्रमीक सामाजिक उद्यमी सहकारी संस्थामा परिणत भयो । १५ जना महिलाबाट शुरु भएको संस्था अहिले २४ सय सदस्य भएका छन् । सुनिता सहकारीको कोषाध्यक्ष हुन ।
हरेक टोल–टोलमा टोल विकास संस्था स्थापना गरि सहकारीको विस्तारसँगै आफ्नो क्षमता उनले बढाउँदै लगिन । वडासदस्यमा निर्वाचित भएदेखि नै सुनिताले आगामी निर्वाचनमा वडाध्यक्ष बन्नुपर्छ भन्ने लक्ष्य लिईन । लक्ष्य अनुसार आफ्नो क्षमता विकासलाई बढाउँदै पनि लगिन । नेतृत्वको दावी गर्न, लविङ गर्न, आफ्नाकुराहरु निर्धक्कसँग राख्नका लागि दलित महिला केन्द्र नेपालले सहयोग गरेको उनको भनाई छ । चौधरी भन्छिन्,‘ दलित महिला केन्द्रले सञ्चालन गरेको सि लिड्स (उनको नेतृत्व) ले क्षमता विकासमा उल्लेखनिय काम गर्यो ।’ म नेतृत्व विकास गर्न चाहन्थे, पछि यस्तै खालको तालिम सञ्चालन गरेको थाहापाएपछि आफुपनि सहभागी भएको चौधरीको भनाई छ ।
सामान्य परिवारकी सुनिताले प्लस टु सम्मको अध्ययन गरेकी छिन् । आफ्नो अध्ययनलाई अघि बढाउन नसकेकी उनले अव टोलको नेतृत्वसँगै अध्ययनलाई पनि अघि बढाउने बताईन । ५ वर्ष कार्यपालिका सदस्य भईसकेकी उनले महिला सञ्जाल मार्फत महिलालाई उद्यमी बनाउन आफुले काम गरेको बताईन । सवै महिलालाई उद्यमशिलतासँग जोड्ने आफ्नो योजना रहेको उनले सुनाईन । पछाडी पारिएका महिलाहरुको शिक्षा, स्वास्थ्यका क्षेत्रमा आफुले जनप्रतिनिधिका रुपमा काम गरेको बताईन् । सुनिताले भनिन,‘ वडाध्यक्षमा निर्वाचित भएँ भने वडाको समग्र विकास गर्ने छु ।’ ५ वर्ष भित्रमा वडाका सवै महिलालाई उद्यमशिलतासँग जोडि आत्मनिर्भर बनाउने आफ्नो प्रतिबद्धता रहेको उनको भनाई छ ।
५ वर्षको उनको कामलाई हेरेर नेकपा एमालेले उनलाई बेलबारी ७ को वडाध्यक्षको उम्मेदवार बनाएको छ । बेलबारी नगरकमिटीको सहसचिव समेत भएकी सुनिताले राजनीतिक तथा सामाजिक क्षेत्रमा धेरै छिटो फड्को मारेको स्थानीय कमला खड्का बताउँछिन् सामाजिक रुपमा राम्रो प्रभाव छर्न सकेकी उनी नेतृत्वमा आएको हेर्न मन भएको खड्काले बताईन । सुनिताले सवैलाई समान रुपमा व्यहार गर्ने गरेको खड्काले बताईन ।
सामाजिक रुपमा महिलालाई पनि अगाडी बढाउनु पर्छ भनेर हरेक कुरामा सहयोग गर्दै आएको उनका श्रीमान ३७ वर्षीय प्रेम चौधरीले बताए । सुनितालाई सामाजिक रुपमा अगाडी बढाउनका लागि सामाजिक संस्थाहरुमा आबद्ध गराईदिने काम आफुले गरेको उनले बताए । स्थानीय रामजानकी आधारभुत विद्यालयका शिक्षक समेत रहेका चौधरीले सुनिताका हरेक गतिविधिमा सहयोग गर्दै आएको बताए । उनले भने,‘ ५ वर्षको अघि र पछिको अवधिलाई मूल्यांकन गर्दा उनको राम्रो नेतृत्व विकास भएको पाएको छु ।’