उद्योग वाणिज्य महासंघ कोशी प्रदेशद्धारा कृषि एक्स्पोको तयारी तीव्र

विराटनगर २७ साउन । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कृषि एक्स्पोको तयारी तीव्र पारेको छ । आगामी भदौ २७ देखि ३० गते सम्म मोरङ कटहरीको कृषि थोक बजारमा आयोजना हुने कृषि एक्स्पोको तयारी तिव्र रुपमा अगाडी बढाईएको महासंघले जनाएको छ ।

कृषि एक्स्पोको प्रचार प्रसार गर्ने सिलसिलामा महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा गएको टोलिले इलामको सूर्योदय नगर पालिकाको सभाहल र उद्योग वाणिज्य संघ विर्तामोडमा त्यस क्षेत्रका उद्योग वाणिज्य संघ, विभिन्न वस्तुगत संघ, नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरु, कृषि व्यवसायी तथा कृषकहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष राउतले विगतमा काठमाण्डौं र चितवनमा मात्र सीमित रहेको कृषि एक्स्पो पहिलो पटक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गर्न गइरहेको र उक्त एक्स्पोलाई प्रदेश सरकार, कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको प्रवद्र्धन र नेपाल कृषि बजार विकास कार्यक्रम(सहज) र कटहरी गाउं पालिकाको सहकार्यमा कृषि एक्स्पो हुन गईरहेको जानकारी गराउनु भयो । उहाले एक्स्पोमा कृषिका नवीनतम प्रविधि, कृषि व्यवसायका उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरुको प्रदर्शनी हुनका साथै कृषि विज्ञबाट प्यानल डिस्कशन, विटुवी छलफल लगायत एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरु आएर परामर्श दिने कार्यक्रम रहेको बताउंनुभयो । एक्स्पो कृषक र कृषि व्यवसायीको मिलन मात्र गराउने नभई कृषकले उत्पादन गरेका वस्तुहरुको उद्योग स्थापना गर्न प्रेरित गर्ने गरी कृषक र उद्योगीहरु वीच समन्वय गराउने कार्यक्रम रहेको बताउंदै जिल्ला बाहिरबाट एक्स्पोको अवलोकन गर्न आउने कृषकका लागि निःशुल्क खाना तथा आवासको व्यवस्था गरिएको जानकारी गराउनु भयो ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले पहिलो पटक कृषि एक्स्पोको आयोजना गर्न गइरहेकोमा सूर्योदय नगरपालिकाका प्रमुख रणवहादुर राईले खुशी व्यक्त गर्दै यसलाई सफल बनाउन आफ्नो क्षेत्रबाट पूर्णरुपमा सहयोग रहने वताउंदै उक्त एक्स्पोमा यस क्षेत्रका उत्पादनहरु प्रदर्शनीमा राखीने वताउनु भएको थियो । विगतमा रमाईलो मेला मात्र आयोजना भइरहेको र आम्दानी कसरी आउंछ भन्ने होडबाजीमा मेला महोत्सव आयोजना हुने गरेकोमा यस पटक महासंघले परिणाम आउने गरी एक्स्पोको तयारी गरेकोमा सकारात्मक भएको भन्दै यसलाई सवै मिलेर सफल बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा सहभागी ताप्लेजुङ उद्योग वाणिज्य संघ, पांचथर उद्योग वाणिज्य संघ, इलाम उद्योग वाणिज्य संघ, सूर्योदय नगर उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, अलैंची व्यवसायी महासंघका अध्यक्ष तथा प्रतिनिधि लगायत सहभागी कृषी व्यवसायी र कृषकहरुले एक्स्पोमा कोशी प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु, प्रविधि, कृषि औजारको प्रर्दशनी हुनका साथै कृषि सम्वन्धी जानकारी गराउन विज्ञहरुको थलो बनाई आधुनिक कृषि व्यवसायका लागि जोड दिन अनुरोध गरेका थिए । साथै एक्स्पोलाई सफल बनाउन पूर्णरुपमा सहयोग रहने प्रतिवद्धता जनाइएको थियो ।

विर्तामोड उद्योग वाणिज्य संघकामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नरेन्द्रकुमार खडकाले कृषि एक्स्पो कोशी प्रदेशका लागि एउटा उत्साह भएकोले सवैले मिलेर सफल बनाउनु पर्ने बताउनु भयो ।

नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले यो एक्स्पो सबैसंग जोडिएको हुंदा यसलाई सफल बनाउन अलैंची व्यवसायी महासंघको पूर्ण सहयोग रहने वताउनु भयो । महिला उद्यमी गोमा भट्टराईले महिला उद्यमीहरुले उत्पादन गरेका बस्तुलाई प्राथमिकता दिनु पर्ने बताउनु भयो ।

विर्तामोड नगरपालिकाका कृषिशाखा प्रमुख राजेन्द्र कडेलले ठूला औजार मात्र नभई कृषकको पहुंचमा हुने खालका हाते औजार हुनु पर्ने, चिया, कफी, फलफूल, अलैचीको उत्पादनमा सहज हुने औजार राखिनु पर्ने कुरामा जोड दिनु भएको थियो । चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले चियाका विभिन्न उत्पादनहरु एक्स्पोमा रहने वताउंदै विषादीयुक्त होइन विषादीमुक्त खाद्यवस्तुको प्रयोग गरौ भन्न सन्देश एक्स्पोमा दिनु पर्ने बताउनु भयो ।

विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पोका सम्वन्धमा विस्तृत जानकारी गराउंदै एक्स्पोमा सहभागी हुन सवैलाई अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा विर्तामोड उद्योग वाणिज्य संघ, मेची उद्योग वाणिज्य संघ, अलैंची व्यवसायी महासंघ, चिया उत्पादक संघ, विर्तामोड नगर पालिका लगायत विभिन्न कृषि व्यवसायी तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)ले जानकारी  दिनुभयो ।