आदिवासी जनजातिहरु देशका गहना : सभापति पोखरेल

विराटनगर २५ साउन । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आदिवासी जनजातिहरु राष्ट्रिय प्रतिष्ठा र देशको गहना भएको बताउनुभएको छ ।

शुक्रबार मोरङको रतुवामाईमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आदिवासी जनजातिको प्रतिष्ठालाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति दिवसमा सार्वजनिक विदा दिन सरकारसँग माग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सो विषय सदनमा उठाउने बताउनुभयो । यस्तै पोखरेलले सिरुवा पर्वका विषयमा सरकारले आगामी वर्ष क्यालेन्डरमा राख्नुपर्ने बताउनुभयो ।

नेपालमा विभिन्न जातजाति, भाषा, धर्ममा मानिसहरू बसेतापनि सामाजिक सद्भाव र सहिष्णुता राम्रो रहेको भन्दै यस प्रकारको सहिष्णुतालाई दीर्घकालसम्म बचाएर राख्नुपर्ने पोखरेलको भनाइ छ । नेपालको कुल जनसङ्ख्याको एक तिहाइ भन्दा बढी जनसङ्ख्या आदिवासी जनजातिहरूको रहेको बताउँदै उहाँले विभिन्न सूचीकृत आदिवासी, जनजातिहरूको भाषा, संस्कृति, लिपिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । विविधताभित्रको एकता नै हाम्रो मुल मन्त्र हो । यहाँ विविध जातजाति, भाषा, सम्प्रदाय, धर्म मान्ने मानिसहरू रहेता पनि एक, अर्काप्रति सामाजिक सद्भाव, सहिष्णुता अत्यन्तै राम्रो छ । यो नेपालको विशिष्ट पहिचान हो । यसलाई हामीले दीर्घका सम्म अक्षुण्ण राख्नुपर्दछ ।’

सभापति पोखरेलले जनजातिहरूसँग रहेका परम्परागत सीप तथा कौशल नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।