विराटनगर २४ साउन । विराटनगर १ परोपकारधाममा भोलि देखि सिंघिया आरती कार्यक्रम शुरु हुँदैछ ।
परोपकारधाममा हरेक शुक्रबार नियमित रुपमा आरती कार्यक्रम गर्ने गरि कार्यक्रम शुरु हुन लागेको हो । आरती कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । विराटनगरमा धार्मिक पर्यटन र सामाजिक सद्भाव कायम गर्ने उद्देश्य सहित परमार्थ सिंघिया आरती सेवाले कार्यक्रम शुरु गर्न लागेको हो ।
शुक्रबार देखि सोमबार सम्म हरेक दिन साँझ साढे ५ वजे हरेक दिन कार्यक्रम हुने आरती सेवाका सल्लाहकार शंकर खरेलले जानकारी दिनुभयो । उहाँका अनुशार ४ दिनको महाआरती कार्यक्रम पछि हरेक शुक्रबार साँझ नियमित रुपमा आरती कार्यक्रम गरिने छ ।
शुभारम्भ दिनको आरती कार्यक्रम यो वर्षको मनसुन शुरु भएपछिको विपद्मा परि ज्यान गुमाएका, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा गरिने सल्लाहकार खरेलले जानकारी दिनुभयो । महाआरती शुभारम्भ कार्यक्रममा करिव २५ हजारको सहभागिता रहने उहाँको भनाई छ ।
४५ मिनेटको आरती कार्यक्रममा १५० महिला भजन मण्डली, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरु ल्गायत विराटनगर, कटहर, बुढीगंगा र ग्रामथान लगायतका क्षेत्रका धर्मानुरागीहरुको सहभागिता रहने परमार्थ सिंघिया आरती सेवाका महासचिव राजन न्यौपानेले जानकारी दिनुभयो । स्वयंसेवी भावनाबाट संस्था स्थापना गरिएको उहाँले बताउनुभयो । महाआरती कार्यक्रमका लागि कतैपनि चन्दा संकलन नगरिएको उहाँको भनाई छ ।
परोपकारधाममा नियमित कार्यक्रम सञ्चालन गर्ने गरि कार्य शुरु गरिएको संस्थाका अध्यक्ष तथा तत्कालिन पुनरावेदन अदालत विराटनगरका मुख्यन्यायाधिश भीमेन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले कार्यक्रमले निरन्तरता पाउने विश्वास लिएको बताउनुभयो ।
सिंघिया आरती कार्यक्रमका लागि पण्डित गोकुल भण्डारीको नेतृत्वमा ५ जनाले नियमित अभ्यास गरिरहेका छन् । महाआरती कार्यक्रमका लागि अध्यक्ष कार्कीको संयोेजकत्वमा २५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको महासचिव न्यौपानेले बताउनुभयो ।