सार्वजनिक लेखा समिति सभापति पोखरेलद्धारा विद्यालय भवनको उद्घाटन

विराटनगर २४ साउन । सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मोरङको कानेपोखरीमा रहेको शिक्षा विकास माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ ।

बुधबार कानेपोखरी गाउँपालिका वडा नम्बर २ दलेलीमा रहेको विद्यालयमा निर्मित १० कोठे भवनको पोखरेलले उद्घाटन गर्नुभएको हो ।

सभापति पोखरेलले विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने गरी काम गर्न निर्देशन दिनुभयो । नवनिर्मित भवनको अधिकतम उपयोग गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई उहाँले आग्रह गर्नुभयो ।

पोखरेलले शिक्षाको क्षेत्रमा विकास गर्न सकेमात्र भोलिको भविष्य निर्माण गर्न सकिने बताउनुभयो ।

भवन २ करोड ७३ लाखको लागतमा निर्माण भएको गाउँपालिका अध्यक्ष राजमती इङनामले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरेलसहित गाउँपालिका अध्यक्ष इङनाम, उपाध्यक्ष भोला अधिकारी, वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।