विराटनगर २१ साउन । विराटनगरमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । एक महिनाअघि नै जडान गरिएको लाइटको सोमबार बिहान उद्घाटन गरिएको हो । विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछी चोकमा जडान गरिएको लाइटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सोमबार उद्घाटन गर्नुभयो । प्रदेश राजधानी विराटनगरस्थित बरगाछीको सडक सवारीसाधन अत्यधिक आवतजावत हुनेभित्र पर्छ ।
सवारी चापका कारण अस्तव्यस्त बन्दै विराटनगरमा पहिलोपटक ट्राफिक लाइट जडान गरेर सञ्चालनमा ल्याइएको हो । लाइटको उद्घाटन गर्दै मन्त्री अधिकारीले अबका दिनमा सवारी आवागमन सहज हुने र सवारी दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने अपेक्षा गरिएको बताए ।
ट्राफिक लाइटले सडक सुशासन कायम गर्न र पैदल यात्री तथा सवारीसाधनलाई सहज ढंगले सडक पार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । जनघनत्व र सवारी चापको अवस्थालाई मध्यनजर गर्दै विराटनगरका विभिन्न स्थानमा ट्राफिक लाइट राख्ने योजना बनाइएको अधिकारीको भनाइ छ । केही दिनभित्र उदयपुरमा पनि ट्राफिक लाइट सञ्चालनमा ल्याउने प्रदेश सरकारको योजना छ । उदयपुरमा पनि यसअघि नै लाइट जडान गरिसकिएको छ । प्राविधिक पक्षको परीक्षण गर्ने काम भइरहेको छ ।
मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले विराटनगरको बरगाछी चोकमा कोशी लोकमार्ग र सहायक सडक पार गर्न चारवटै कोणमा लाइट जडान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ट्राफिक लाइट उद्घाटनलगत्तै सवारी चालक र सर्वसाधारणका लागि ट्राफिक सचेतनासमेत गरिएको थियो ।
मन्त्रालयको २३ लाख रूपैयाँको लागतमा लाइट जडान गरेको थापाले बताए । लाइट उद्घाटन कार्यक्रममा निमित्त सचिव थापासहित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भीमबहादुर दाहाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेल, मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की, मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर सुमन न्यौपानेलगायत उपस्थित थिए । बरगाछीमा उत्तर–दक्षिण र पूर्व–पश्चिम जाने सडक छ । ट्राफिक व्यवस्थापन भद्रगोल हुँदा लामो समयसम्म सवारी जाम र दुर्घटना अत्यधिक हुने गरेको थियो ।
लाइटको प्राविधिक पक्षलगायतको परीक्षण सफल भएपछि उद्घाटन गरेर सञ्चालनमा ल्याइएको मन्त्रालयका सचिव थापाले बताए । उनका अनुसार ट्राफिक लाइटमा सबैलाई अभ्यस्त बनाउन यसअघिदेखि नै सचेतनामूलक कार्यक्रम गरिँदै आएको थियो । लाइट एक महिनाअघि नै जडान गरिएको हो । तर, जेब्राक्रस निर्माण र प्राविधिक पक्षको विश्लेषण बाँकी रहेका कारण यसअघि सञ्चालनमा ल्याउन सकिएको थिएन ।
कोशी प्रदेशको इटहरी र दमकमा यसअघि नै लाइट जडान गरेर सञ्चालनमा ल्याइसकिएको छ । विराटनगरका अन्य स्थानमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।