विराटनगर १२ का एमाले उम्मेदवार बरालद्धारा स्वास्थ्य वीमा नि : शुल्क गर्ने घोषणा

विराटनगर, २२ वैशाख । नेकपा एमाले विराटनगर १२ बाट वडाध्यक्षमा उम्मेदवारी दिएका भोला बरालले विपन्न वडावासीको स्वास्थ्य वीमा नि : शुल्क गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

नगरबाट प्राप्त हुने सुविधाको रकम विपन्न वडावासीको स्वास्थ्यमा खर्च गरिने उम्मेदवार बरालले बताए । उनले भने,‘ नगरको सुविधा आफ्ना लागि प्रयोग गर्दिन, वडावासीको स्वास्थ्यमा लगाउँछु ।’ वडाका हरेक योजना, कार्यक्रम वडावासीको हितमा हुनेगरि तय गरिने उनले बताए ।

५ वर्ष भित्रमा विराटनगरका वडाहरु मध्ये १२ नम्वरलाई नमूना बनाउने उनले दावी गरेका छन् । वडा भित्रका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरबृद्धि गर्ने बरालले बताए । वडाका सवै सडक कालो पत्रे गरिने, आधारभुत स्वास्थ्य सेवा वडाभित्र उपलब्ध गराईने, गरिवी निवारणको अन्त्य गरिने उनले बताए ।

बर्षायाममा डुवानको समस्या समाधान गरिने, पानीको निकासको प्रवन्ध गरिने, हरेक घर–घरमा स्वच्छ खानेपानीको सुविधा उपलब्ध गराउने वडाध्यक्षका उम्मेदवार बरालले बताए । निर्वाचन नजिकिएसँगै जनलहर आफ्नो पक्षमा देखिदै गएको उनले बताए ।