जनताको आर्थिक समृद्धिलाई जोड्न योजना कार्यान्वयन गरिने : मुख्यमन्त्री कार्की

विराटनगर १८ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेश योजना आयोगको बैंकमा रहेका योजनालाई जनताको आर्थिक समृद्धिसँग जोड्नु आवश्यक रहेको बताउनु भएको छ ।

प्रदेश योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशको समग्र आर्थिक विकास तथा लगानीको वातावरणमा सुधारका क्षेत्रमा अनुभव सिकाई आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले योजनालाई नागरिकको पक्षमा कार्यान्वयन गर्न प्रदेश सभा सदस्य, राजनीतिक नेतृत्व, विकासका साझेदारीहरु र नागरिक समाजसँग आवश्यक छलफल गरी कार्यान्वयन गर्ने विचार राख्नु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश स्थापनाको विगत छ वर्षको अवधिमा विकासको प्रयाप्त उपलव्धी हासिल गर्न सफल भएका छौँ भन्दै नीतिगत र कानूनी रुपमा प्रदेशलाई बलियो तथा स्थापित गराउन आगामी दिनमा हुने संविधान संशोधनमा सातवटै प्रदेश मिलेर लागि पर्ने कुरामा जोड दिनुभयो । उहाँले भत्रुभयो, ‘ प्रदेशमा विकासको गतिलाई तीव्रता दिन राष्ट्रिय पूँजीको विकास आवश्यक छ र यसका लागि स्थानीय स्रोत,साधन र खनिज पदार्थको अधिकतम उपयोग र निर्यात गर्नुको विकल्प छैन ।’

मुख्यमन्त्री कार्कीले मुलुकको व्यापार घाटा कम गर्न कृषि, पशुपालन व्यवसायमा उल्लेखनीय वृद्धि गरी जलविद्युतको व्यपारलाई पनि विस्तार गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले पर्यटक आवागमन वृद्धिका लागि पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको विकास, सहज यातायात र व्यवस्थित वासस्थानमा व्यवस्था गरी दुई छिमेकी देशका नागरिकहरुलाई आकर्षण गर्नुपर्ने सुझाव दिनु भयो । उहाँले भत्रुभयो, ‘ भारतीयहरुलाई नेपाल आगामनमा सहजता दिन भारतीय रुपैया पाँच सय र एक हजारको नोट एवं रु २५ हजार भन्दा बढी रकम ल्याउनका लागि पहल गरिरहेको छु ।’ सो अवसरमा राष्ट्रिय योजना आयोग पूर्व उपाध्यक्ष जगदिशचन्द्र पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै योजना पहिचान गरी विकासको कार्यलाई निरन्तरता दिनु पर्ने सुझाव दिँदै प्रदेशमा व्यवासयिक क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रदेश योजना आयोगका सदस्य भवानी बरालले बहुवर्षीय योजना अनतर्गत स्थापना गरिने एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टरले प्रदेशमा भैँसी र बङ्गुर उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त्त गर्नु भयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी, आयोगका पूर्व उपाध्यक्ष डा रघुराज काफ्ले ओमधरानन्द राजोपाध्याय र डा अजयचन्द्र लालले मुलुकको आर्थिक समृद्धि र नागरिकको रोजगार एवं आयआर्जनलाई ध्यानमा राखि विकासको कामलाई गतिदिनु पर्ने सुझाव दिनु भयो ।