विराटनगर १६ साउन । सुनसरीको दुहवीबाट हराएकी एक नाबालिकालाई विराटनगरमा बन्धक बनाएर राखिएको अवस्थामा भोलिपल्ट फेला पारिएको छ । बन्धक बनाएर राखेको ठाउँबाट प्रहरीले नाबालिकालाई बुधबार बिहान सकुशल उद्धार गरेको छ ।
बन्धक बनाएर राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहवी नगरपालिका–१० डुम्राहाकी ६ वर्षीया नाबालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् ।
मामाघरमा खेलिरहेका बेला बालिका बेपत्ता भएको जानकारी अभिभावकले इलाका प्रहरी कार्यालय दुहवीमा गराएका थिए । त्यसलगत्तै इन्सपेक्टर मोहन पोखरेल नेतृत्वको टोलीले खोजी तीव्र पारेको थियो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवानले खेलिरहेको अवस्थामा नाबालिकालाई उठाएर अभिभावकको मञ्जुरी बिना नै लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सञ्जयले अभिभावकको अनुमति नलिइकन दुहवीबाट नाबालिकालाई ल्याएर विराटनगर–१० स्थित आफन्तको डेरामा बन्धक बनाएर राखेको जानकारी भण्डारीले दिए । विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान डेरा बस्छन् । डेरा बसेकै कोठामा बालिकालाई रातभर बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ ।