जनमुखी कार्यक्रमहरु कटौति गरिएकोप्रति पूर्वमुख्यमन्त्री कार्कीको असन्तुष्टी

विराटनगर १६ साउन । प्रदेश सरकार फेरबदलसंगै जनमुखी कार्यक्रमहरु कटौति गरिएको भन्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले असन्तुष्टि ब्यक्त गर्नुभएको छ ।

आज पत्रकार सम्मेलन मार्फत पूर्वमुख्यमन्त्री कार्कीले वर्तमान सरकारले कार्यकर्तामूखी योजनालाई प्राथमिकतामा राख्दै जनतालाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु रोकर अन्याय गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ अहिलेको सरकारले कार्यकर्तामूखी योजनालाई जोडदिँदै २५ हजार रुपैया बजेटसम्मको कार्यक्रम अघि सारेको छ । जुन दुर्भाग्यपूर्ण रहेको हामी सबैको बुझाई हो ।

सरकारले दशवर्षमूनिका बालबालिकाको निःशुल्क उपचार, विपन्न विद्यार्थीलाई उच्च शिक्षाको छात्रवृत्ति, जनावर मैत्री जंगल, सुकुम्बासीलाई जग्गा खरिदमा ब्याज अनुदान, शैलजा आचार्य ह्यद रोग केन्द्र स्थापना तथा सञ्चालन जस्ता जनतामूखी कार्यक्रम रोकेर अन्याय गरेको छ ।’ अघिल्लो सरकारले अघि बढाएका यसप्रकारका कार्यक्रमलाई ओझेलमा नराख्न चेतावनी दिदै पूर्वमुख्यमन्त्री कार्कीले जनताको कर जनतालाई सुम्पिने यस्ता कार्यक्रम उपेक्षा गरिए लोकतान्त्रिक विधीबाट संघर्ष गरिने बताउनुभयो ।

कार्कीले अघिल्लो सरकारमा रहँदा भौतिक पूर्वाधार निर्माणमा केन्द्रीत भएका टुक्रे बजेटलाई निरुत्साहित गर्दै २५ लाख रुपैयामाथिको योजनामा मात्र बजेट विनियोजन गर्ने प्रत्यत्न गरेको उल्लेख गर्नुभयो ।

कार्कीले केन्द्रीय गठबन्धन अनुसार कोशी प्रदेश सरकारमा काँग्रेसको सहभागिता हुने बताउनुभयो । उहाँले एमालेले काँग्रेसलाई भागवण्डामा मन्त्रालय दिने भन्दापनि सहमतिमा लेनदेन हुने बताउनुभयो ।