कोशीमा संयुक्त सरकार बन्छ : मुख्यमन्त्री कार्की

विराटनगर, १४ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले ‘वर्तमान अवस्थामा मन्त्रालयको संख्यामा वृद्धि नहुने समेत प्रष्ट पार्नु भयो ।’ उहाँले नेकाले नाम दिएको आधारमा दुई/चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने समेत जानकारी दिनु भयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गैसकेकोले यसमा पुनरालोकन नहुने स्पष्ट पार्र्दै आवधिक समयमा विग्रेको बजेटलाई कानुन वमोजि सच्याउने सकिने विचार व्यक्त्त गर्नु भयो ।
उहाँले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्कि सम्वन्धमा प्रदेश सरकार कर्मचारी र नागरिकको सुरक्षाको निम्ति सम्वेदनशील छ भन्नु भयो ।