एक अर्ब लगानी थप्दै हिमगिरी हाइजिन

विराटनगर ६ साउन । नेपाली चलचित्रका प्रशिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य( महजोडी)लाई हिमगिरी हाइजेनिक उद्योग विराटनगरले आज ब्राण्ड एम्बेष्डर नियुक्त गरेको छ ।

उद्योगद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उद्योगका अध्यक्ष महेश जाजु, प्रवन्ध निर्देशक प्रकाश मुन्दडाले महजोडीसँग एक बर्षको सम्झौता पत्र आदान प्रदान गर्नु भयो । सो अवसरमा कलाकारद्वय श्रेष्ठ र आचार्यले युवाहरुलाई स्वदेशमा रोजगर उपलव्ध गराउन नीजि क्षेत्रका उद्योगहरुको भूमिका महत्वपूर्ण रहेको बताउनु भएका छन् । उहाँहरुले विदेश जाने युवाहरुलाई वित्तिय सचेतना दिई रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउनु पर्ने सुझाव दिनु भयो ।

उद्योगका अध्यक्ष बेनीगोपाल मुन्दडा, अध्यक्ष जाजु र प्रवन्ध निर्देशक मुन्दडाले उत्पादित सामाग्रीहरुमा गुणस्तरलाई विशेष ध्यान दिएको जानकारी दिनु भयो । उद्योगले लुगाधुने पाउडर, लुगाधुने, भाँडा माझ्नो र नुहाउने सावुन ,श्याम्फु, नेपकिन,शौचालय सफा गर्ने सामाग्री, मास्क, लगायतका गुणस्तरीय सामानहरु उत्पादन गरिरहेको छ । उद्योगमा हाल रु ३२ करोड लगानी रहेको छ भने आगामी दिन थप रु एक अर्ब लगानी गरी स्वदेशी युवाहरुलाई रोजगारी उपलव्ध गराउने लक्ष्य रहेको उद्योगका अध्यक्ष जाजुले जानकारी दिनु भयो ।

उद्योगले आफ्ना उत्पादनहरु भारतको विहार,पश्चिम वङ्गाल,उत्तरप्रदेश,झारखण्ड र भूटानमा निर्यात गर्ने लक्ष्य रहेको छ ।