सुनसरीको धरानको मेयरको दौडबाट जसपा बाहिरियो, गठबन्धनलाई सहयोग गर्ने

विराटनगर, २० वैशाख । सुनसरी धरान उपमहानगरपालिकाको मेयरको दौडबाट जनता समाजवादी पार्टी (जसपा) पछि हटेको छ ।

सिट बाँडफाँडमा असन्तुष्टि जनाउँदै मेयर र उपमेयरमा उम्मेदवारी दिएको जसपाले गठबन्धनका उम्मेदवारलाई सघाउन सहमत भएको हो ।

केन्द्रको निर्देशनपछि मंगलबार जसपाले आफूले उठाएका मेयर र उपमेयरका उम्मेदवारलाई निष्क्रिय बनाउने भएको हो। उसले गठबन्धन उम्मेदवारलाई सघाउने सहमति गरेको छ। गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले मंगलबार लोकतान्त्रिक–वाम गठबन्धनका नाममा ८ बुँदे सहमति गरेर सार्वजनिक गरेका छन । गठबन्धनबाट मेयरका उम्मेदवार किशोर राई र उपमेयरका उम्मेदवार अइन्द्र बिक्रम बेघा छन्। राई कांग्रेसका हुन् भने बेघा माओवादी नेता हन्। नेकपा एकीकृत समाजवादीले पनि यसअघि धरानमा दिएको मेयर र उपमेयरको उम्मेदवारी फिर्ता लिइसकेको छ ।

सुनसरीकै अर्काे उपमहानगरपालिका इटहरीमा मेयर र उपमेयरमा पनि जसपाले उम्मेदवारी निष्क्रिय बनाएर गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।