विराटनगर ५ भदौ । राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्था विराटनगरको निक्षेप अनुमानित लक्ष्य भन्दा बढी भएको छ । आर्थिक वर्ष २०८०–०८१ का लागि सहकारीले ३० करोड ९५ लाख २७ हजार ७४८ को लक्ष्य लिएको थियो ।
आर्थिक वर्ष समाप्तीसम्म सहकारीले ११२ प्रतिशतको प्रगति हासिल गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेका अनुसार आर्थि वर्ष २०८०–०८१ मा ३४ करोड ९४ लाख ६८ हजार ३७० निक्षेप संकलन भएको छ ।
लक्ष्य भन्दा बढी प्रगती भएको उहाँले बताउनुभयो । विराटनगरमा आज आयोजित नेपाल निजामति कर्मचारी संगठन मोरङको विस्तारित वैठक तथा सम्मान कार्यक्रम एवं राष्ट्रसेवक वचत तथा ऋण सहकारी संस्थाको २७ औं स्थापना दिवसका अवसरमा अध्यक्ष काफ्लेले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार आर्थिक वर्ष २०७९–०८० मा २८ करोड ९५ लाख २७ हजार ७४८ निक्षेप संकलन भएको थियो । सहकारीले पुँजी तथा दायित्वमा पनि ११०.१७ को प्रगति गरेको छ शेयर पुँजी, ऋण लगानीमा पनि बृद्धि भएको अध्यक्ष काफ्लेले बताउनुभयो ।
कार्यक्रममा आजदेखि सेवा निबृत्त हुनु भएका निजामति कर्मचारी संगठन मोरङका अध्यक्ष ओम सुवेदीलाई सम्मान गरिएको थियो । उहाँलाई कोशी प्रदेश सरकारका आर्थिम मामिला तथा योजनामन्त्री रामबहादुर रानाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री मगर, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सहकारी अभियान्ता रमेश पोखरेल लगायतले बोल्नु भएको थियो ।