विराटनगर २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिनुहुने भएको छ । प्रधामन्त्री ओलीले आगामी आइतबार नै प्रतिनिधि सभामा विश्वासको मत लिने तय भैसकेको सत्ता पक्षका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिनुभयो ।
छिट्टै संसद्को विश्वास लिएपछि काम अघि बढाउन सहज हुने भएकोले ६ गते नै विश्वासको मत लिने निर्णय भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री नियुक्त भैसकेपछि ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
एमाले अध्यक्ष ओलीले असार ३१ गते पदभार सम्हाल्नु भएको थियो । संसदका प्रमुख दुई दल मिलेर सरकार बनाएकोले प्रधानमन्त्रीलाई विश्वासको मत लिन सहज छ । अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी सामेल छन् । यी दलको मात्रै पनि संसदमा झन्डै दुई तिहाइ मत छ ।