विराटनगर, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज बिहान विराटनगरमा प्रभात फेरीको आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङको आयोजनामा प्रभात फेरीको आयोजना गरिएको हो । कलेज रोडस्थित महासङ्घको कार्यालयबाट सुरु भएको प्रभात फेरी महेन्द्र चोक, पुरानो गुद्री, बुधहाट चोक, ट्राफिक चोक हुँदै कलेज रोडमै पुगेर सम्पन्न भएको थियो ।
प्रभात फेरीमा पत्रकार, मानव अधिकारकर्मी, नागरिक अगुवा लगायतको उपस्थिति थियो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला लगायतका सुरक्षा अधिकारी पनि प्रभात फेरीमा सहभागी हुनु भएको थियो ।