मानव अधिकारका मुद्धामा नियमित छलफल गर्दै मानव अधिकार सञ्जाल

विराटनगर १ साउन । मानव अधिकार सञ्जाल विराटनगरले मानव अधिकार क्षेत्रसँग संवन्धित मुद्धामा नियमित छलफल गर्दै आएको छ ।

विराटनगरमा रहेका गैरसरकारी संस्थाहरुलाई एकै ठाउँमा राखेर मानव अधिकारसँग संवन्धित विषयमा सञ्जालमा मासिक रुपमा छलफल गर्दै आएको छ ।  मंगलबार ओरेक विराटनगरको संयोजनमा छलफल गरिएको छ ।

मासिक रुपमा गरिने छलफल कार्यक्रममा मानव अधिकारको अवस्था र गैरसरकारी संस्थाहरुले मासिक रुपमा गरेका काम र समस्याहरुबारे सञ्जालको बैठकमा छलफल हुने गरेको छ । सञ्जालको बैठकमा मानव अधिकार संवन्धि पाँचौं राष्ट्रिय कार्ययोजनाबारे पनि छलफल हुने गरेको छ । कार्ययोजना अनुशार प्रदेश, स्थानीय सरकारले गर्नुपर्ने काम नगरेकोको अधिकारकर्मीहरुले बताएका छन् ।

सञ्जाल बैठकमा संयोजक विनोद पोखरेलले आर्थिक वर्ष २०८०–०८१ को आय व्यय तथा वर्षभरि सञ्चालन गरिएका कार्यक्रमबारे बैठकमा जानकारी गराउनु भएको थियो । संयोजक पोखरेलले बैठकमा आएका सुझावहरुलाई आगामी दिनमा कार्यन्वयन गर्दै लैजाने गरिएको बताउनुभयो ।

सञ्जाल बैठकमा मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख पवन भट्टको विदाई गरिएको थियो । उहाँ कोशीबाट बागमति प्रदेशको हेडौंडा सरुवा हुनु भएकाले मासिक बैठकको अवसरमा विदाई गरिएको थियो । बैठकमा भट्टले मानव अधिकार सञ्जालले गैरसरकारी संस्थाहरुलाई समेटेर मानव अधिकारका विषयमा साझा धारणा बनाउने काम गरेको बताउनुभयो । सञ्जालको महत्व बढेर गएको बताउनुभयो । उहाँले २२ महिना विराटनगर बसाईका क्रममा मानव अधिकार क्षेत्रसँग नजिक रहेर काम गर्ने अवसर पाएको उहाँले बताउनुभयो । जागिरे जीवनमा विराटनगरबाट धेरै सिक्ने अवसर पाएको भट्टले बताउनुभयो ।

बैठकमा गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा पन्त, बरिष्ठ पत्रकार यज्ञ शर्मा, अधिकारकर्मीहरु दिनेश श्रेष्ठ, मीना जोशी, बासु अधिकारी, बागमता कट्टेल लगायतले बोल्नु भएको थियो ।