विराटनगर २७ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटलाई लयमा ल्याउने प्रयास भईरहेको बताउनुभएको छ । २०७८ सालदेखि प्रदेश सरकारको बजेट विग्रीएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको बजेटलाई सन्तुलनमा ल्याउने काम भईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ २ वर्ष अघि बजेट निर्माण गर्दा जानेर÷नजानेर गल्ती भयो । अहिले सुन्तुलनमा ल्याउने काम भईरहेको छ ।’
सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको लैंगिक रुपान्तरणकारी दृष्टिकोण तथा लैंगिक उत्तरदायी बजेट सम्वन्धी गोष्ठिमा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ अब १÷२ वर्ष भित्रमा ट्रयाकमा ल्याउनेगरि काम भईरहेको छ ।’ भौतिक पूर्वाधारको क्षेत्रमा निर्माण भईरहेका संरचनालाई बजेट विनियोजन गरिरहनु पर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार लैंगिक उत्तरदायी बजेटमा प्रतिबद्ध रहेको बताउनुभयो ।
दोश्रो कार्यकालमा प्रदेश सरकार परिवर्तन भइरहेका कारण नीतिगत तथा बजेटहरुमा प्रभाव परेको उहाँले बताउनुभयो । बजेटलाई पुनरावलोकन गरेर भएपनि लैंगिक उत्तरदायी बजेट निर्माणमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाई छ ।
प्रदेश सरकारले कर्मचारी अभावका कारण लक्ष्य अनुशारको बजेट खर्च गर्न नसकीरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षमा ७८.३५ प्रतिशत पुँजीगत र ७५.३६ प्रतिशत चालु बजेट खर्च भएको जानकारी दिनुभयो ।