कोशीमा पूर्वमुख्यमन्त्रीहरुलाई गाडी सुविधा दिने अध्यादेश खारेज

विराटनगर २५ असार । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ खारेज गर्नुभएको छ ।

असार २० गतेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्नका लागि सिफारिस गरेको थियो । आज प्रदेश प्रमुख खापुङले अध्यादेश खारेजीको निर्णय गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । केदार कार्की नेतृत्वको सरकारले प्रदेशका पदाधिकारी तथा पूर्व मुख्यमन्त्रीलाई राज्यकोषबाट सुविधा दिनेगरी अध्यादेश ल्याएको थियो ।

२०८० पुस २६ गते प्रदेशसभाको अधिवेशन अन्त्य गरेका तत्कालिन मुख्यमन्त्री कार्कीले ६ माघमा अध्यादेश जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ को दफा २ को ‘ख’ संशोधन गरी प्रदेश सभाका पदाधिकारीको संख्या थप गरेका थिए । ऐनमा सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्षी दलको नेता, सत्ता पक्ष दलको सचेतक र प्रदेशसभा समितिका सभापतिलाई मात्र प्रदेशसभाको पदाधिकारीमा राखिएको थियो ।

अध्यादेश मार्फत प्रदेशसभा सदस्य रहेका पूर्वमुख्यमन्त्री र सरकारमा सहभागी दलका संसदीय दलका नेता र प्रतिपक्षी दलका संसदीय दलका नेतालाई पनि पदाधिकारीको सूचीमा राखिएको थियो । अध्यादेशमार्फत प्रदेश जनस्वास्थ्य ऐन २०७७ लाई संशोधन गर्दै जिसस प्रमुखको अधिकार पनि खोसिएको थियो ।