विराटनगर २५ असार । विराटनगरमा धारिलो हतियार प्रहार गरि सोमबार राति एक जना युवकको हत्या गरिएको छ । दुई जना घाइते भएका छन ।
घाइतेमध्ये एक जना १७ वर्षका किशोर छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटना विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक भएको हो ।
धारिलो हतियारले शरीरमा घोपेर मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको उनले बताए । कामतसहित तीन जना राति १० बजेतिर घाइते अवस्थामा फेला पारेका थिए ।
बाटोमा हिँड्दै गरेकाहरुले उद्धार गरेर उनीहरुलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
गम्भीर अवस्थाका कामतको भने उपचारकै क्रममा मृत्यु भएको हो । मृतक कामतको छात्ती र कम्मरको भागमा धारिलो हतियारले घोपेको जस्तो चोट देखिएको जानकारी एसपी कार्कीले दिए । कामतको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ ।
एसपी कार्कीका अनुसार हतियारले घोपेर कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन रायलाई घाइते बनाइएको छ । रायको अवस्था गम्भीर छ । उनको कोखा र ढाडमा धारिलो हतियारले घोपेजस्तो चोट देखिएको छ । मध्यम अवस्थाका मण्डल बोल्न सक्ने अवस्थामा छन् । उनको पाखुरा र ढाडमा चोट छ ।
दुवै जना घाइतेलाई कोशी अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि राति नै विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको छ । प्रहरीका अनुसार घटना कसले गराएको हो भनेर खुल्न सकेको छैन ।