विराटनगरमा विवेकशील साझा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक

विराटनगर, १८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर विवेकशील साझा पार्टीले विराटनगरमा आज प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ ।

प्रतिज्ञा पत्र २५ बुँदाको छ । विराटनगर महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दिएर विवेकशील चुनावी अभियानमा होमिएको छ । विवेकशीलबाट मेयरमा अमलेश कर्ण र उपमेयरमा श्रृजु पराजुलीले उम्मेदवारी दिनु भएको छ । प्रतिज्ञा पत्र सार्वजनिक गर्न आयोजित प्रतिज्ञा सभामा पार्टीका केन्द्रीय अध्यक्ष रवीन्द्र मिश्र, केन्द्रीय प्रवक्ता शरदराज पाठक, केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार, विराटनगरका मेयर तथा उपमेयरका उम्मेदवार लगायतको सहभागिता थियो । युवा, विद्यार्थी, वृद्धवृद्धा तथा महानगरका बासिन्दाको पक्षमा काम गर्ने प्रतिज्ञा विवेकशीलको छ ।

विवेकशीलले विद्यार्थीका लागि सञ्चय कोष सञ्चालन, स्टार्ट अफ विजनेशका लागि युवाहरूलाई १० लाखसम्म सहुलीयत कर्जा, ज्येष्ठ नागरिकका लागि अनुभव संरक्षण शाखा सञ्चालन, नगर बस सञ्चालन, द्रुत गतिमा चक्रपथ निर्माण, करको दायरा बढाउने, फोहोरको वैज्ञानिक व्यवस्थापन, विराटनगरलाई साइकल मैत्री सहर बनाउने र रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण बनाउने लगायतका प्रतिज्ञा गरेको छ । त्यस्तै प्रतिज्ञा पत्रमा व्यावसायिक शिक्षाको जग बसाउने, सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला बनाउने, १० हजार विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउन सुविधा सम्पन्न र अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षालय सञ्चालन गर्ने, प्राविधिक शिक्षालाई प्राथमिकतामा राखेर विद्यार्थीलाई पढ्दै कमाउने वातावरण बनाउने लगायत उल्लेख छन् ।

युवाहरुमा उद्यमशीलता विकासका लागि छुट्टै शाखा बनाएर वित्तीय, प्राविधिक र बजारीकरणको व्यवस्था गर्ने, दुव्र्यसनविरुद्ध सिर्जनात्मक क्रियाकलाप सञ्चालन गर्ने, अशक्त र असहाय र ज्येष्ठ नागरिकलाई घरमै सेवा उपलब्ध गराउने, विराटनगरमा गुणस्तरीय खानेपानीको व्यवस्था गर्ने, सुकुम्बासी समस्या समाधानका लागि संयुक्त आवासको पहल गर्ने, महानगरभित्रका सार्वजनिक जग्गाको संरक्षण गर्दै सामुदायिक पार्कका रूपमा विकास गर्ने, करको दायरालाई फराकिलो पार्दै दोहोरो कर प्रणालीको अन्त्य गर्ने, आवश्यक स्थानको छनोट गरेर सार्वजनिक शौचालय, घुम्ती शौचालयको निर्माण तथा सञ्चालन गर्ने विषय विवेकशीलको प्राथमिकतामा परेको छ ।

सहकारीसँग समन्वय गर्दै शहरका विभिन्न स्थानहरूमा सागसब्जी, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री पाउने सुपथ मूल्य पसल तथा भण्डारण केन्द्र सञ्चालन गर्ने, प्राकृतिक जीवनशैली अपनाउँदै आयुर्वेदिक तथा प्राकृतिक चिकित्सा प्रणलीको प्रवद्र्धन गर्ने, सुविधा सम्पन्न र सुरक्षित शहर निर्माणको पूर्वाधार तयार गर्ने, सबै वडा कार्यालयमा निःशुल्क लेखापढी सेवा सञ्चालन गर्ने र नगर तथा वडा कार्यालयहरूको कार्यप्रगति विवरण प्रत्येक ३ महिनामा सार्वजनिक गरिने प्रतिज्ञा पत्रमा उल्लेख छ ।