विराटनगर १९ असार । राष्ट्रिय खेलकुद परिषद्ले विराटनगरस्थित सहिद मैदानको खेल पूर्वाधार सञ्चालन तथा ब्यवस्थापनका लागि महानगरसंग गरिएको पाँच वर्षे संझौता भङ्ग गरेको छ । परिषद्का अनुसार पाँचवर्षका लागि परिषद्संग गरिएको सम्झौता तीन वर्षमै भङ्ग गरिएको हो ।
परिषद्ले सम्झौता बमोजिम महानगरले सहिद मैदानमा रहेका भवन भाडावापतका बाँकी बक्यौता रकम बुझाउन आलटाल गरि एकलौटी ढंगबाट आर्जन गरेको, परिषद्को स्वीकृत विना पूर्वाधार निर्माण गरेको, कभर्डहल समेत मर्मत सम्भार नगरेको आरोप लगाएको छ । २०७७ साल चैत्र २६ गते दुईपक्षबीच भएको सम्झौता अनुरुप महानगरले रंङशालाको स्वामित्वमा रहेको सटर भाडा, सार्वजनिक शौचालयबाट संकलन हुने रकमको ५० प्रतिशत र खेल आयोजना हुँदा टिकट बिक्रीबाट हुने आम्दानीको २५ प्रतिशत हुने आम्दानी रकम परिषद्लाई बुझाएको छैन ।
सहिद मैदानस्थित जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन पोखरेलका अनुसार सहिद मैदानको स्वामित्वमा रहेको सटर भाडाबाट महानगरले ५ देखि ६ लाख रुपैया र शौचालयबाट ६ लाख रुपैया वार्षिक रुपमा संकलन गर्दै आएको छ । त्यसैगरि, सम्झौता विपरीत महानगरले गतवर्ष चैत्रबाट सहिद मैदानको उत्तरतर्फको सवारी पार्किङ क्षेत्र बनाएको उनले जानकारी दिए ।
खेलकुद विकास समितिका कार्यालय प्रमुख पोखरेलले खेल मैदान, कभर्डहल लगायतका खेल पूर्वाधारहरुको स्तरबृद्धि एवं नयाँ निर्माण गर्नका लागि महानगर उदासिन हुदै गएको बताए । अर्काेतर्फ, महानगरकी युवा तथा खेलकुद शाखा प्रमुख तारा शर्माले विराट गोल्डकपमा टिकट काट्ने गरिएपनि, महानगरले निःशुल्क खेल मैदान उपलब्ध गराँउदै आएको बताउनुभयो ।
विराटनगरका तत्कालिन प्रमुख भीम पराजुली र परिषद्का तत्कालिन सदस्यसचिव रमेश सिलवालबीच २०७७ साल चैत्र २६ गते सहिद मैदानको पूर्वाधार सञ्चालन र ब्यवस्थापनका लागि पाँच वर्षे सम्झौता भएको थियो । सम्झौता बमोजिम महानगरले काम गर्न नसकेको जनाँउदै गत जेठ १६ गते परिषद्ले सम्झौता पुरा हुन दुईवर्ष बाँकी रहदै गर्दा सम्झौता भङ्ग गरेको हो ।
सम्झौता भङ्ग भएसंगै साउनबाट सहिद मैदानको स्वामित्व पूनः खेलकुद विकास समितिमा आउने भएको छ ।