तराई मधेशका लागि चुरे क्षेत्र जीवनको बाँच्ने आधार : मुख्यमन्त्री कार्की

विराटनगर १६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तराई मधेशका लागि चुरे क्षेत्र जीवनको बाँच्ने आधार भएको बताउनु भएको छ ।

राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई, सलकपुर मोरङद्वारा आज विराटनगरमा आयोजित चुरे संरक्षण प्रदेशस्तरीय स्रोत परिचालन तथा समन्वय समितिको प्र्रथम संयुक्त बैठकको उद्घाटन गर्दै चुरे क्षेत्रमा रहेका खोला नदीका ढुङ्गा गिट्टीको अवैध निकासीको रोकथाम गरी जलवायु ,वातावरणमा पर्ने असरलाई न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले चुरे क्षेत्रको विनाशबाट समाज एवं समुदायमा पर्ने असरका सम्बन्धमा तराई क्षेत्रका नागरिकलाई के गर्न हुने के नगर्ने हुने सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्नु पर्ने सुझाव दिनु भयो । उहाँले प्रदेश र पालिकामा कामको बोझले खोला नदीको अनुगमन गर्न नसकिरहेको अवस्थामा कानूनमा व्यवस्था गरी जिल्ला समिति समन्वय समितिलाई चुरे क्षेत्रको संरक्षणका जिम्मा दिनु पर्नेमा सुझाव दिनु भयो । ‘चुरेको माटो चुरेलाई , चुरेको पानी तराईलाई ’भनाईलाई चरिचार्थ पार्न सबैको कर्तव्य रहेको भन्दै मुख्यमन्त्री कार्कीले नदीबाट ढुङ्गा, गिट्टी निकाल्दा कुनै असर नपर्ने तर यसको बैज्ञानिक अध्ययन गरी परिमाण तोक्नु पर्ने बताउनु भयो ।

पर्यटन, वन तथा वातावरणमन्त्री एवं चुर संरक्षण प्रदेश स्रोत परिचालन समितिका संयोजक नारायण मगर(बुर्जा)ले खोला नदीको खनिज पदार्थको अवैध चोरी निकासी नियन्त्रण गरी तराई मधेशलाई मरुभूमि हुनबाट जोगाउनु पर्ने विचार राख्नु भयो ।

सो अवसरमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा किरण पौडेलले चुरे संरक्षणमा तीन तह बीच समन्यव सहकार्यको आवश्यक्ता, चुरे संरक्षण प्रदेश स्रोत परिचालन समितिकी सह संयोजक डा सुस्मिता ढकालले चुरे संरक्षण सम्वन्धी विधेयकको मस्यौदा र कार्यक्रम कार्यान्वयन इकाई सलकपुर मोरङका निमित्त कार्यालय प्रमुख काशी यादवले नेपालमा चुरे क्षेत्रको विद्यमान अवस्था र संरक्षणका प्रयासहरु विषयक प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।

बैठकमा मोरङ, सुनसरी, इलाम,सिरहा सप्तरी,झापा र उदयपुर जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, डिभिजन वन कार्यालयका प्रमुखहरु,पालिकाका प्रमुखहरुको सहभागिता रहेको छ ।