विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार द्रुत गतिमा काम गर्न लागिपरेको बताउनुभएको छ ।
विराटनगरमा सीता बाल मुकुन्द पोखरेल प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले एक महिनाको अवधिमा विगत ७ महिनामा हुन नसकेको नीतिगत कामहरु गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले एक महिनामा नीति तथा कार्यक्रमर बजेट मात्रै बनाएका छैनौं ।
लामो समयदेखि नभइरहेका योजनाका कामहरु पनि दु्रत गतिमा अगाडि बढाएका छौं ।’ एक वर्षमा तीन पटक सरकारको मुद्दा लडेर त्यसमा निरन्तर जितका कारण पनि काम गर्ने उत्साह पैदा भएको उहाँले बताउनुभयो ।
सरकारमा केही गरौं भन्ने अठोटसहित काममा लागिपरेको उहाँको भनाइ छ । उहाँले समाजमा म को हु, मेरो दायित्व के हो र मैले कसका लागि काम गर्न खोज्दैछु भन्ने कुरा चिनेर काम गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सामाजिक काममा लाग्दा म को हु किन काम गर्ने भन्ने चिन्न नसक्दा समस्या सृजना भएका छन् ।’
कठिन परिस्थतिमा पनि समाजसेवामा समर्पित सीता पोखरेलको जीवनका संघर्ष र सेवा प्रेरणादायी रहेको चर्चा गर्दै मुख्यमन्त्रीले सीता पोखरेल र बालमुकुन्द पोखरेलको नाममा प्रतिष्ठान स्थापना गरेर समाजमा उहाँहरुको योगदानलाई स्थापित गर्ने प्रत्यन गर्नु उदाहरणीय काम भएको बताउनुभयो ।
सो कार्यक्रममा साहित्यकार कुन्ता शर्मा र श्याम अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने बैंकर कमल बस्नेतलाई पनि सम्मान गरिएको थियो ।