विराटनगरमा खानेपानीको समस्या चाँडै समाधान गर्छौं : उपप्रमुख कार्की

विराटनगर १४ असार । विराटनगरमा देखिएको खानेपानीको समस्या चाँडै समाधान गरिने भएको छ । विराटनगरवासीलाई सन् २०२६ सम्मका शुद्ध पिउने पानी पुर्याउने लक्ष्य रहेको उपप्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो । निर्वाचनका समयमा जनतासँग गरेको प्रतिबद्धता अनुसार महानगरपालिका खानेपानीको समस्या समाधानमा लागि परेको उहाँले बताउनुभयो ।

जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्धारा संचालन हुने विराटनगर खानेपानी सुधार आयोजनाको आज भएको शिलान्यास कार्यक्रममा उपप्रमुख कार्कीले सो कुरा बताउनु भएको हो ।

परियोजनाको निर्माण कार्य २ वर्ष भित्रमा सम्पन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ आयोजनाको निर्माणपछि दैनिक २ करोड लिटर पानी वितरण गर्न सकिने छ ।’ विराटनगरमा अहिले दैनिक १ करोड लिटर बढी पानीको माग रहेको उपप्रमुख कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ विराटनगर महानगर अहिले शुद्ध खानेपानी वितरण गर्ने सपना साकार हुने गोरेटोमा छ ।’

जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न हुने आयोजनाबाट विराटनगरका एक लाख जनता लाभान्वित हुने उपप्रमुख कार्कीको भनाई छ । विराटनगरका सवै वडामा शुद्ध खानेपानी पुर्याउनका लागि अन्य दातृ निकायहरुसँग पनि छलफल भईरहेको उहाँले बताउनुभयो ।

२०२६ मे ३१ मा आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि सिमिजु कर्पोरेसनले २ अर्व २९ करोड जापानी यानमा सम्झौता गरेको छ ।