विराटनगर १४ असार । जापान सरकारको अनुदान सहयोगमा नेपाल खानेपानी संस्थानद्धारा विराटनगरमा खानेपानी सुधार आयोजनाको शिलान्यास गरेको छ ।
आज विराटनगरस्थित खानेपानी सुधार आयोजनाको शिलन्यास गर्दै संघीय खानेपानी मन्त्री राजेन्द्रकुमार राईले शुद्ध र गुणस्तरीय खानेपानी ब्यवस्थापनका लागि जापान सरकारले उपलब्ध गराएको सहयोगबाट विराटनगरवासी लाभान्वित हुने बताउनुभयो ।
मन्त्री राईले मुलुकमा रहेको तीनतहको सरकारले खानेपानी समस्या समाधानका लागि जुटेर काम गरिरहेको बताउनुभयो । कार्यक्रममा जापानका राजदुतावासका चार्ज डी अफेयर्स ताकाहिरो तामुराले शिलान्यास गरिएको आयोजना कार्यान्वयन गर्न नेपाल सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
आयोजनाले जापान र नेपालबीचको मैत्रीपूर्ण थप मजबुद हुने अपेक्षा गरेको बताउँदै तामुराले यस आयोजनाले विराटनगरवासी लाभान्वित हुने प्रस्टाउनुभयो । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले खानेपानी सरसफाई सहज र सरल रुपमा उपलब्ध गराउन सरकारले संवेदनशील भएर काम गरिरहेको बताउनुभयो ।
खानेपानी संस्थान विराटनगरका प्रमुख इन्जिनियर सन्तोष रौनियारका अनुसार आयोजनाको अध्ययन २०७६ सालबाट भएको जानकारी दिनुभयो ।