एभरेष्टका ३ विद्यार्थी सहित मोरङका ८ विद्यार्थीले ल्याए ४ जीपीए

विराटनगर १४ असार । मोरङका ८ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । सबैभन्दा बढि एभरेष्ट बोर्डिङ स्कुल विराटनगरका तीन जनाले ४ जीपीए ल्याएका हुन् । तीनजनाले जीपीए ४ ल्याएसँगै विद्यालयले कोशी प्रदेशकै उत्कृष्ट भएको दाबी गरेको छ ।

एभरेष्टबाट एसइई परीक्षामा २१२ जनाले परीक्षा दिएका थिए । ती मध्ये कृतज्ञ दाहाल, राजु कुमार साह र सुब्रत बरालले ४ जीपीए ल्याएको स्कुलका प्राचार्य टिकाराम पुरीले जानकारी दिनुभयो ।

जिपिए ४ ल्याउनेमा पथरीशनिश्चरेस्थित रेडस्टार बोर्डिङ स्कुलका दुईजनाले ४ जीपीए ल्याएर उत्तीर्ण भएका छन् । अजय लिम्बू र सतिश आचार्यले ४ जीपीए ल्याएको जनाइएको छ । उर्लाबारीस्थित पशुपति आवासीय माविकी अन्वेशा बस्नेत, विराटनगरको बुढानीलकण्ठ माविकी सिरेन भट्टराई र सगरमाथा बोर्डिङ स्कुलकी प्रतिभा रौनियारले पनि ४ जीपीएसहित उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई मोरङले जनाएको छ ।

एसईईमा मोरङबाट १७ हजार ५४५ विद्यार्थी सहभागि भएका थिए । परीक्षामा सहभागी भएका मध्ये ५३ दशमलव २९ ले कक्षा ११ पढ्न पाउने भएका छन् ।

कोशी प्रदेशमा एभरेष्टको उत्कृष्ट नतिजा
एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको छ । ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको छ ।

यस्तै बाँकी ८ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । अहिलेसम्मको सार्वजनिक भएका नतिजाहरु हेर्दा एभरेष्टको नतिजा कोशी प्रदेशकै उत्कृष्ट रहेको भाइस प्रिन्सिपल टिएन भण्डारीले बताउनुभयो ।

देशकै अब्बल शिक्षण संस्थाका रुपमा अग्रसर रहेको एभरेष्ट स्कुलले भौतिक पूर्वाधार सँगै शिक्षण पद्दति पनि सोहि अनुसारको अवलम्वन गर्दै आएको छ ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शैक्षिक गुणस्तर वृद्धिका लागि गरेका अभ्यास, विभिन्न क्षेत्रसँगको सहकार्यको नतिजा यस वर्षको रिजल्ट रहेको बताउनुभयो ।

सामुदायिक तर्फ पोखरिया उत्कृष्ट
सामुदायिक विद्यालय तर्फ विराटनगरको पोखरिया माविले यस बर्षपनि उत्कृष्ट नतिजा हासिल गरेको छ ।

पोखरिया माविबाट एसइई परीक्षा २०८० मा ५३ जनाले ३ दशमलव ६ देखि ४ सम्म जीपीए ल्याएका छन् । विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईका अनुसार वर्ष सर्वाेत्कृष्ट ३.८६ जिपिए सहित ५३ जनाले ३.६ देखि ४ सम्म जिपिए ल्याएको जानकारी दिए ।

४ सय ३३ जना विद्यार्थीहरू एसइईमा सहभागी भएका थिए । उनीहरु मध्ये थप १७८ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएका हुन् । त्यसैगरी १२० जनाले २.८ देखि ३.२ र ३६ जनाले २.४ देखि २.८ जीपीए ल्याएका छन् ।