विराटनगर प्राइम राउण्ड टेबलद्वारा कक्षा कोठा निर्माण गरि हस्तान्तरण

विराटनगर १२ असार । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ । टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको छ ।

टेबलले स्वर्गीय सुनिल टिबरेवालाको स्मृतिमा ब्लक निर्माण गरि विद्यालयलाई जिम्मा लगाएको हो । ब्लकको नाम सुनिल टिब्रेवाल ब्लक राखिएको छ । ब्लक निर्माण पूर्व टेबलर स्वर्गीय टिब्रेवालको नाममा समर्पित छ । ब्लकको उद्घाटन विराटनगरका प्रमुख नागेश कोइराला र टिबरेवालाकी आमा किरण टिबरेवालाले संयुक्त रूपमा गर्नुभएको थियो । ३ हजार २ सय वर्गफिट ओगटेको ब्लकको निर्माणमा ४५ लाख रूपैयाँ खर्च भएको थियो । ब्लकको निर्माण ४ महिनामा सम्पन्न भएको थियो । महेन्द्रमा अंग्रेजी माध्यमका कक्षा ९ र १० का विद्यार्थीकालागि कक्षाकोठाको अभाव थियो । ब्लक निर्माणसँगै २ सय बढी विद्यार्थीले सजिलो गरी पढ्न पाउने भएका छन् ।

कार्यक्रममा टेबलका २०२३–२४ का अध्यक्ष निखिल वंशलले आज भावुक दिन भएको बताए । उहाँले विद्यालयलाई ४ कक्षा कोठासहितको ब्लक हस्तान्तरण गर्न पाउँदा आफूहरूलाई अपार खुशी लागेको बताउनुभयो । टेबलका समन्वयक विवेक राठीले हालसम्म विभिन्न विद्यालयका ४५ बढी कक्षाकोठा निर्माण गरिएको बताउनुभयो । उहाँले बालबालिका देशका भविष्य हुन भन्ने यथार्थलाई हृदयङ्गम गरि ठूलो नभएपनि कक्षा निर्माणजस्ता स–सानो कदम चालिएको बताउनुभयो । टेबलका संस्थापक अध्यक्ष अनुपम राठीले राउण्ड टेबल १० देशको उदाहरणीय टेबल भएको बताउनुभयो । उहाँले सिमित साधन र श्रोतका वावजुद उल्लेख्य सामाजिक र रचनात्मक कार्य गरिएको बताउनुभयो ।

राठीले टिबरेवाला लोकप्रिय टेबलर भएको स्मरण गर्नुभयोे । ब्लक निर्माणले विद्यालय र टिबरेवालाको नाम युगौंयुगसम्म अमर रहने राठीले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंकप्रसाद गौतमले महेन्द्रमा टेबलले गरिदिएको भौतिक संरचना निर्माणले विद्यार्थीले पढ्नकालागि सहज वातावरण पाएको बताउनुभयो । प्रमुख कोइरालाले महानगरपालिका रचनात्मक र सामाजिक कार्यमा जहिलेपनि सहयोग गर्न तत्पर भएको बताए । उनले नगरभित्रका सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ध्यान दिने बताउनुभयो ।

विराटनगर प्राइम राउण्ड टेबल नं. १० ले शिक्षा र सामुदायिक विद्यालयमा योगदान पुर्याउँदै आएको छ । विद्यालयको निर्माण, स्वास्थ्य सेवाको प्रवन्ध, सामाजिक र रचनात्मक कार्यमा टेबल नं. १० सक्रिय छ । विराटनगर–८ का वडाध्यक्ष राम पोखरेल र विद्यालयका प्रधानाध्यापक विष्णुकान्त झा, अतुल सिंघानिया र अभिषेक केडिया लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।