विराटनगर महानगरको बजेट तीन अर्ब ४९ करोड ९९ लाख

विराटनगर १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८१-८२ को लागि रु तीन अर्ब ४९ करोड ९८ लाख ८६ हजार अनुमानित आय–व्यय सार्वजनिक गरेको छ । विराटनगर महानगरपालिकाको आज आयोजित नगर सभाको चौधौँ अधिवेशनमा उक्त वजेट प्रस्तुत गरिएको हो ।

महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्षको बार्षिक नीति बजेट कार्यक्रम प्रस्तुत गर्दै आयतर्फ वित्तीय समानीकरण अनुदान सङ्घीय सरकारबाट रु ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट रु दुई करोड ४९ लाख २९ हजार, राजश्व बाँडफाँडमध्ये मूल्य अभिवृद्धि करबाट रु १६ करोड ११ लाख ७६ हजार एक सय २६,अन्तशुल्कबाट रु पाँच करोड ८५ लाख ४१ हजार दुई ७९ , वन रोयल्टीतर्फ रु पाँच लाख ८२ हजार पाँच सय ९५ , घर जग्गा रजिष्ट्रेशन दस्तुरबाट रु ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट रु तीन करोड ८७ लाख एक हजार र मनोरञ्जन तथा विज्ञापन कर वापत रु एक करोड, आन्तरिक आयतर्फ रु १ अर्व १० करोड ८६ लाख ८५ हजार तथा नगद मौज्दात रु २५ करोड अनुमान गरिएको छ।

यसैगरी सङ्घीय सरकार सशर्त अनुदान रु ८० करोड ७७ लाख, विशेष अनुदान रु सात करोड ५० लाख समपुरक अनुदान रु एक करोड १० लाख ,प्रदेश सरकार सशर्त अनुदान तर्फ रु तीन करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान रु दुई करोड गरी कुल रु तीन अर्व ४९ करोड ९८ लाख ८६ हजार हुने गरि प्रस्तावित अनुमानित आय प्रस्तुत गरिएको छ।

उपप्रमुख कार्कीले आगामी आर्थिक आव २०८१/८२ का लागि अनुमानित व्यय प्रस्तुत गर्दै कार्य सञ्चालन तथा प्रशासनीक खर्च रु ५९ करोड, ऋणको सावा ब्याज भुक्तानी रु पाँच करोड, चालु आवको चालु खर्चतर्फको दायित्व भुक्तानी रु तीन करोड ३४ लाख ८३ हजार समपूरक कार्यक्रम रु छ करोड १० लाख, वडास्तरीय योजनातर्फ रु ४३ करोड तीन लाख १२ हजार, वहुबर्षिय ठेक्का तथा गौरवका आयोजना एवं दायित्व सरिआएका योजनाहरुको भुक्तानीका लागि रु ५० करोड, बस्ती विकास र तराई मधेश समृद्धि कार्यक्रमतर्फ रु पाँच करोड ६० लाख, सडक, ढल, नाला तथा अन्य मर्मत सम्भारतर्फका लागि रु चार करोड ५० लाख, मर्मत सम्भारतर्फका लागि रु १० करोड तथा भारी सवारी साधन खरीदका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ ।