प्रहरीको लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियान

विराटनगर, ९ असार । सरोकारवालाहरुलाई सचेत र जागरुक गराउन गत पौष १८ गते देखि नेपाल प्रहरीले कोशी प्रदेशको १४ वटै जिल्लामा लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियान शुरु गरेको थियो ।

नेपाल प्रहरीले संचालन गरेको लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियानमूलक कार्यक्रम पछि स्थानीयहरुमा ऐन कानुन र नियम बारे जानकारी प्राप्त भएको र उजुरी गर्ने प्रवृत्ति बढेको पाइएको छ । यो अभियान पछि पिडितहरुको मनोबल बढेको र पिडितहरुलाई सामाजिक रुपमा अपहेलित गर्ने प्रवृर्ति घटेको तथ्यांक रहेको छ ।

लैंगिक हिंसा तथा मानव बेचबिखन विरुद्धको अभियान बारे समिक्षा गोष्ठीमा बोल्दै कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्र कुबेर खापुङले लैंगिक रुपमा विभेदमा पारिएकाहरुलाई सशक्तिकरण गर्न आवश्यक रहेको र यसका लागि प्रहरीलाई सबैको सहयोग र सहकार्य चाहिएको बताए । उनले सामाजिक र धार्मिक परम्पराका कारण लैंगिक हिंसा हुने गरेकोले यसलाई न्यूनिकरण र नियन्त्रण गर्न सचेतना अभियान नै प्रमुख उपाय भएको बताउनुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको सो कार्यक्रममा अभियान अघि र अभियान पछि जिल्ला जिल्लामा लैंगिक हिंसा र मानव बेचबिखन सम्बन्धी अपराधको तुलनात्मक विवरण प्रस्तुत गरिएको थियो ।

सो कार्यक्रममा प्रहरीका उच्च अधिकृतहरुका साथै १४ जिल्लाका अपराध अनुसंधान तथा महिला बालबालिका सेल हेर्र्ने प्रहरी अधिकृतहरु संचारकर्मीहरु र अधिकारकर्र्मीहरुको सहभागिता रहेको थियो ।