विराटनगर ४ असार । विराटनगरमा जारी नाटक महोत्सवको चौथो दिन मंगलबार ‘सुरुङ’ मञ्चन गरिएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ट पोखरेल नाटकघरमागौरादह जेसीज तथा झोराहाट नाट्य समूहले भरत ‘बर्बरिक’ द्धारा निर्देशित नाटक मञ्चन गरिएको हो ।
लागु औषधको डरलाग्दो सुरुङभित्र युवा तन्नेरीहरुको प्रवेशले निम्त्याउने अनेकन दुष्परिणामलाई नाटकले देखाएको थियो । सौरभ भट्टराईद्धारा लिखित उक्त नाटकमा लीला खत्री, अभिषेक गड्तौला, पूजन खरेल, पदम दाहाल, निर्मला रिमाल लगायतको अभिनय रहेको थियो । नाटक महोत्सवको अन्तिम दिन बुधबार दिउँसो ३ बजे कलालय इटहरीले ‘शत्रु’ नामको नाटक मञ्चन गर्ने महोत्सव निर्देशक तथा आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको अनुदान सहयोग तथा विराटनगर महानगरपालिकाको सहयोगमा भएको महोत्सवमा कोशी प्रदेशका कुल ६ वटा नाटक मञ्चन हुँदैछन् । महोत्सवको पहिलो दिन आयोजकले चौथो अध्याय मञ्चन गरेको थियो भने दोस्रो दिन कदम थिएटर दमकले जयमाया आफू मात्रै लिखापानी आइपुगी मञ्चन गरेको थियो ।
तेस्रो दिन सोमबार ह्वी क्यानले स्कूल र पिस नेपालले हेत्छाकुप्पा मञ्चन गरेको थियो ।