मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

विराटनगर ३ असार । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधन भएको छ ।

ग्रामथान–४ घर भएका उनी ५६ वर्षका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईका अनुसार सोमबार दिउँसो १ बजेतिर अध्यक्ष थारुको निधन भएको हो । उनी २०८० माघ १० गते साँझ विराटनगरस्थित होटल स्टर्न स्टारमा बेहोस भएर ढलेका थिए । राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका उनी कार्यक्रमस्थलमै बेहोस भएर ढलेका हुन् । उनलाई लामो समयसम्म विराटनगरको नोबेल शिक्षण अस्पतालमा राखेर उपचार गराइयो ।

उपचार सम्भव नहुने भनेर चिकित्सकले भनेपछि जेठ १ गते घर लगिएको थियो । प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार थारुको अचेत अवस्थामै आफ्नै घरमा निधन भएको हो । थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको चिकित्सकले बताएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । अध्यक्ष बिरामी परेपछि गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारुले लगभग साढे ५ महिनादेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन् ।

थारुको मंगलबार अन्तिम संस्कार गरिने जनाइएको छ ।